काठमाडौं । विदेशमा कमाएर नेपालमा औपचारिक माध्यमबाट रकम पठाउने नेपालीलाई कम्पनीहरुले जारी गर्ने साधारण सेयर (आईपीओ) मा आरक्षण दिने विषयमा सरकारी निकायहरुले अध्ययन थालेका छन् ।
पछिल्लो समय कम्पनीहरुले जारी गर्ने आईपीओमा सर्वसाधारणको असाध्यै चासो बढेको र विदेशमा रहेका नेपालीले नेपालको सेयर बजारमा लगानी गर्न थालेपछि सरकारले औपचारिक माध्यमबाट रेमिटान्स नेपाल भित्र्याउने आकर्षण बढाउन तथा विदेशमा कमाएको रकमलाई उपभोगमा मात्रै खर्च हुन कम गर्न यस्तो विकल्पमा गृहकार्य थालेको हो ।
कम्पनीहरुले जारी गर्ने आईपीओमा विदेशमा रहेका र औपचारिक माध्यमबाट रेमिटान्स पठाउने नेपालीलाई कसरी आरक्षण दिन सकिन्छ भनेर अध्ययन भइरहेको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । यस्तो अध्ययनका लागि समिति नै गठन भएको र सो समितिले अध्ययन गरिरहेको उनको भनाई छ ।
पछिल्लो समयम नेपालमा विदेशी मुद्राको संचिति पनि कम हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभरी कम्तिमा पनि ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी मुद्राको संचिति कायम गर्ने भनेको भएपनि गत पुससम्म आईपुग्दा जम्मा ६ महिना १८ दिनको लागि मात्रै पुग्ने विदेशी मुद्रा संचिति छ ।
पछिल्लो समय नेपालमा सेयर बजार घटेको तथा विदेशमा रहेका नेपालीले क्रिप्टो करेन्सी लगायतका उपकरणमा लगानी गरेका कारण रेमिटान्स आउन कम भएपछि विदेशी मुद्राको संचिति कम हुन थालेको सरकारी अधिकारीहरु बताइरहेका छन् ।
एकातिर विदेशी मुद्राको संचिति कम भएको र अर्काेतिर विदेशमा कार्यरत नेपालीले नेपालमा पठाएको रकम उभोगमै बढी खर्च हुन थालेपछि सरकारले आईपीओमा आरक्षण दिने नयाँ विकल्पमा अध्ययन थालेको हो ।