काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता बढ्दै गएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म कुल ५० लाख डिम्याट खाता पुगिसकेका छन् । डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्यासमेत बढेको छ ।
सिडिएसका अनुसार मेरो सेयरको संख्या ४१ लाख नाघेको छ । डिम्याट खाताहरु बढेसँगै विभिन्न कम्पनीहरुले जारी गर्ने साधारण सेयरका लागि आवेदन दिनेहरु पनि बढेका छन् । आईपीओका लागि आवेदन दिनेहरुको संख्या बढेसँगै आवेदन दिएका अधिकांशले सेयर पाउँदैनन् । पटक–पटक आवेदन दिँदा पनि नपरेपछि मानिसहरुमा एक किसिमको निराशासँगै सेयर बाँडफाँडमा पनि प्रश्न उठाउने गरेका छन् ।
मंगलबार मात्रै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भयो । सेयर बाँडफाँड कार्यक्रममा पनि आईपीओ बाँडफाँडको विषयमा प्रशंग उठ्यो । नेष्डो समृद्ध लघुवित्तको सेयरका लागि २६ लाखभन्दा बढीले आवेदन दिएका थिए । २६ लाखमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारे भने तीन जनाले थप १ कित्ता अर्थात ११ कित्ता सेयर पाए ।
बाँकी सबै आवेदक निराश बन्न विवश भए । कार्यक्रममा आईपीओको बाँडफाँडको प्रक्रियाको प्रशंग जोड्दै सो लघुवित्तका प्रबन्ध सञ्चालक विश्वप्रकास प्रशाईंले आफु पनि अहिलेसम्म आईपीओ बाँडफाँडको प्रक्रियाका विषयमा स्पष्ट नभएको बताउँदै नेष्डोको देखेपछि जानकारी पाएको बताए ।

‘नेष्डो सम्वृद्ध लघुवित्त पर्वतको संस्था हो, आईपीओ हाम्रो लागि नयाँ विषय थियो, मलाई पनि सेयर बाँडफाँडको विषयमा खासै जानकारी थिएन, तर, नेष्डो सम्वृद्धिको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको प्रक्रिया देखेर म प्रष्ट भएँ, यसमा कुनै धाँदली हुने रहेनछ,’ उनले भने ।
यस्तै, उनले आम नागरिकमा सेयर बाँडफाँड गर्दा आफन्तलाई वा चिनेजानेकालाई मात्रै पार्छन् भन्ने भ्रम भएको पनि जानकारी दिए ।
उनले एउटा प्रशंग जोड्दै भने, ‘सर्वसाधारणमा अझैँ पनि आफ्नालाई सेयर पार्छन् भन्ने भ्रम छ, त्यो भ्रम मैले चिनेजानेकामा पनि रहेछ, मेरै कम्पनी (नेष्डो सम्वृद्ध लघुवित्त) को आईपीओ निश्कासन गरेपछि पनि एक सयभन्दा बढीले मलाई आईपीओ पारिदिनु भनेर पठाए, मैले पनि हाल्दिँदा के जान्छ र भनेर सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सरहरुलाई आग्रह गरेँ तर, उहाँहरुले यस्तो हुँदैन नी यो त लक्की ड्रबाट हुन्छ भनेर प्रक्रिया गरेर देखाएपछि म प्रष्ट भएँ, यस्तो भ्रम कसैले नराखौं,’ उनले भने ।
प्रबन्ध सञ्चालक प्रसाईंका अनुसार पर्वतबाट उनलाई १ सयभन्दा बढी उनका आफन्तले सेयर पारिदिनु भनेर डिम्याट खाता पठाएका थिए ।
सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण आचार्यले पनि नेपालको सेयर बाँडफाँड प्रक्रियामा कुनै कमजोरी नभएको बताए । उनले सबै सिस्टमबाट आईपीओ बाँडफाँड हुने भएकोले लक्की ड्रका आधारमै आवेदकले सेयर पाउने धारणा राखे ।
यस्तै, उनले सेयर भर्नेहरु नै अब निराश हुनु पर्ने अवस्था आएको बताए । आईपीओ निष्काशन हुँदा मागभन्दा बढी आवेदन पर्दा थोरै लगानीकर्ताहरूले मात्रै सेयर पाउनाले पनि अधिकांशले निराश हुनु परेको बताए ।
उनले अब ठूला परियोजनाहरुलाई ल्याउनु पर्ने धारणा पनि राखे । यसले देशको अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनको धारणा छ ।

यस्तो छ बाँडफाँडको प्रक्रिया
अहिले आईपीओ भरेका सबैले पाउने सम्भावना एकदमै न्यून हुन्छ । आईपीओ भर्ने बढी र निष्काशित सेयर संख्या कम भएकै कारण धेरैले सेयर पाउँदैनन् । सेयर बाँडफाँड गर्दा सबैलाई दिन पुग्ने भए सर्वप्रथम सबै आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गरिन्छ ।
१० कित्ताका दरले बाँडफाँड गरे पश्चात बाँडफाँडको दोस्रो चरणमा बाँकी रहेको निष्काशित सेयर २० वा सो भन्दा बढी कित्ता माग गर्ने आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गरिन्छ ।
पुनः १० कित्ताका दरले बाँडफाँड गरेपछि ३० र सोभन्दा बढी कित्ता माग गर्ने आवेदकहरुलाई पुनः १० कित्ता दिइन्छ । अझै बाँकी रहेको सेयर गोलाप्रथाबाट पुग्ने जतिलाई १० कित्ताका दरले बाँडफाँड गरिन्छ । १० कित्ताका दरले सबै आवेदकलाई सेयर बाँडफाँड गर्न नपुग्ने अवस्थामा गोलाप्रथाबाट आवेदक छनोट गरी बाँडफाँड गरिन्छ ।
आवेदकहरुलाई न्युनतम १० कित्ता पाउने किसिमले सफ्टवेरको प्रयोग गरेर बाँडफाँड गरिन्छ । उदाहरणका लागि २ लाख कित्ता सेयर निष्काशन गरिएकोमा ४० हजार आवेदक भए भने सबैलाई १० कित्ताका दरले दिन पुग्दैन ।
४० हजार जनालाई १० कित्ताका दरले सेयर दिन ४ लाख कित्ता आवश्यक पर्छ । यहाँ १० कित्ताका दरले २० हजार जनालाई मात्र सेयर पुग्छ । ४० हजार सेयर भर्ने आवेदकमध्येबाट ५० प्रतिशतले मात्रै सेयर पाउँछन् भने ५० प्रतिशतको हात खाली नै हुन्छ । त्यसैले भर्ने सबैले पाउँछन् भन्ने निश्चित हुँदैन ।
सम्बन्धित सामग्री: आईपीओ बाँडफाँडमा प्रश्नः आफ्नालाई मात्रै पो पार्छन् कि ?