काठमाडौं । शनिबार करिब सवा ४ बजेको समयमा अर्थमन्त्री जनार्दन शर्माले फेसबुक पेजमार्फत नेपाली अर्थतन्त्रको विषयमा केही विषय पोष्ट पोष्ट गरे । सुरुमा उनले राजश्व संकलनको स्थिती भनेर चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ६ खर्ब १३ अर्बको तथ्यांक सार्वजनिक गरे ।
सो तथ्यांक सार्वजनिक गरेको चार मिनेटपछि उनले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भन्दै गत आर्थिक वर्षको माघसम्म ८ प्रतिशत र चालु आवको माघ मसान्तसम्म १०.२९ प्रतिशत रहेको विवरण सार्वजकि गरे । सो पोष्टमा अधिकांशले उनको प्रशंसा गरेका छन् भने कतिले बैंकमा तरलता किन घटेको, महँगी किन बढेको ? लगायतका प्रतिक्रिया र प्रश्नहरु गरेका छन् ।
सो स्टाटस पोष्ट गरेको केही समयपछि उनले पुनः अर्को विषयमा पोष्ट गरे । उनको पोष्ट नेपाली सेयर बजारकाे विषयमा थियो । उनले पोष्टमा नेप्से इन्डेक्स भन्दै सेयर बजारमा सूचिकृत कम्पनीको संख्या सार्वजनिक गरे ।
उनको पोष्टमा गत आर्थिक वर्षको माघ मसान्तसम्म र चालु आर्थिक वर्षको माघ मसान्तसम्मको सूचिकृत कम्पनीको संख्या सार्वजनिक गरिएको छ । गत वर्षको माघमा २१६ कम्पनी नेप्सेमा सूचिकृत भएकोमा चालु आवको माघसम्म २२६ पुगेको उनले देखाउन खोजेका छन् ।
तर, सो पोष्ट सार्वजनिक गर्दा उनी चुकेका छन् । नेप्से इन्डेक्स भनेर उनले सूचिकृत कम्पनीको संख्या सार्वजनिक गरेको भन्दै कमेन्ट बक्समा उनको आलोचना भइरहेको छ । धेरैले सेयर बजार नबुझेको अर्थमन्त्री भन्दै नकरात्मक प्रतिक्रियाहरु दिइरहेका छन् ।
सो पोष्टको कमेन्टमा प्रकाश पाण्डेले लेखेका छन्,‘यसलाई इन्डेक्स भन्दैनन् मन्त्रीज्यू, नेप्सेमा लिष्टेड कम्पनीको संख्या भनेर भन्नुस्, इन्डेक्स त आजको मितिमा २५६६.९ छ ।’
यस्तै, कमेन्टमै सिमन पोखरेलले लेखेका छन्,‘तपाईंको क्याप्सन सुधार गर्नुस्, यो नेप्से इन्डेक्स होइन, सूचिकृत कम्पनीको संख्या हो ।’ यी त केही प्रतिनिधिमुलक प्रतिक्रिया मात्रै हुन् अर्थमन्त्री शर्माको सो पोष्टमा धेरै नकारात्मक प्रतिक्रिया आइरहेका छन् । तर, पनि अहिलेसम्म साे पाेष्टकाे संशोधन (इडिट) गरिएको छैन ।
धेरैले अर्थमन्त्रीको स्वकिय सचिवको पनि खोजी गरेका छन् । सेयर बजार नबुझ्ने कस्तो स्ककिय सचिव भन्दै उनको पनि आलोचना भइरहेको छ ।
उसो त हिजो मात्रै अर्थमन्त्री शर्माको सोही अकाउण्टबाट सो आईडी अर्थमन्त्रीको सचिवालय अन्तर्गत प्रेस डिभिजनले सञ्चालन गरिरहेको बताइएको थियो । सो पोष्ट मार्फत केही प्राविधिक समस्या हल गरी २/३ दिनपछि सो आईडी सचिवालयको नामबाट सञ्चालन गरिने जानकारी गराइएको थियो ।
(नोटः तीव्र आलोचनापछि अहिले स्टाटसबाट इन्डेक्स हटाएर नेप्से मात्र राखिएको छ)