काठमाडौं । बुधबारको सेयर कारोबार २३ प्रतिशतले घटेको छ । मंगलबारको तुलनामा बुधबारको कारोबार रकम ७९ करोड रुपैयाँ अर्थात २३.५१ प्रतिशतले घटेको हो ।
मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार २ अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । बुधबार २३१ वटा स्क्रिप्स कारोबारमा आएका थिए । जसमध्ये सबैभन्दा बढी एनटीसी (नेपाल दुरसञ्चार कम्पनी)को सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बढी कारोबार भएको कम्पनीको सेयर मूल्य भने घटेको छ । मंगलबार मात्रै बोनससहितको लाभांश घोषणा गरेको कम्पनीको सेयर मूल्य आज दोश्रो दिन पनि घटेको छ । मंगलबारको तुलनामा बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ३.५७ प्रतिशतले घटेर प्रतिकित्ता १५६८ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५८ प्रतिशतले घटी हो ।
बजारमा कारोबार रकम मात्रै नभई नेप्से परिसूचक १९.७२ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७४ प्रतिशतले घटेर २६३१.२५ बिन्दुमा झरेको छ । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.२० अंकले घटेर ४९७.३९ बिन्दुमा झरेको छ ।
बजारमा होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह उकालो लागेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।
घटेको बजारमा पनि इमर्जिङ्ग नेपालको सेयर मूल्य भने बढेको छ । हालै दोश्रो बजारमा सूचीकृत उक्त कम्पनीको सेयर मूल्य बुधबार ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४७२.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४२.९० प्रतिशतले घटी हो ।
यूनाईटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.९२ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ४४.८० रुपैयाँले घटी हो । त्यस्तै बढी मूल्य घट्नेको दोश्रो स्थानमा एनटीसी रहेको छ ।