
फाइल फोटो
काठमाडौं । बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् ।
एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । ६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तिको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय बताउँछन ।
सौर्यबत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत भएर बलेको देखिदैन । उपमहानगरपालिका भित्र दुई सय ५० ओटा सौर्यबत्ती जडान भएका छन् । तर, जडान भएका मध्ये अधिकांशबत्ती बल्दैनन् । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै पटक–पटक सडक दुर्घटना भएको समेत हुने गरेको छ । तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चोसो नदेखाएको स्थानीय ललितकुमार रौनियारले बताए । उनले सडकमा जडान गरिएका बत्ती बल्न छाडेकाले सडकमा हिड्ने मानिसहरु हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको गुनासो गरे ।
‘सोलार बत्ति जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सौर्यबत्तिको मर्मत गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ,’ उनले भने ।
तर यता उप–महानगरपालिकाकी उपमेयर उमा थापामगरले भने उपमहानगरपालिकाले सडक बत्ती मर्मत कार्य गरिरहेको बताईन । उनका अनुसार उप–महानगरपालिका भित्र विग्रिएको सडक बत्ती मर्मतका लागि यो वर्ष २० लाख बजेट विनियोजन गरिएको थियो ।
सौर्यबत्तीको एक बर्ष मात्र वारेन्टी हुने भएकाले सडक बत्ती विग्रिने गरेको बताईएको छ । उपमहानगरपालिकाको समन्वय र संसद कोषबाट नेपालगञ्जमा सौर्यबत्ती जडान गरिएको थियो ।