
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो बिन्दुले बढेको छ । सोमबार दोहोरो अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि १६.०४ अंकले बढेर २६५०.७० बिन्दुमा पुगेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले बढी हो ।
बजारमा साढे २ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा २ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सो दिन ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएको हो ।
जसमध्ये प्रभु इन्स्योरेन्सको १५ करोड ३३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बराबर छ, अर्थात प्रतिकित्ता ४५१ रुपैयाँ छ ।
त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको १० करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १५२८ रुपैयाँ पुगेको छ ।
दोहोरो अंकले बढेको बजारमा इमर्जिङ नेपालको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ ।