
काठमाडौं । स्थानीय तहका निर्वाचित पदाधिकारीलाई उम्मेदवारको मनोनयन दर्ताअघि नै पदबाट राजीनामा गर्नुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगलाई त्यस्तो आचारसंहिता जारी गर्नुको कारण देखाउन पनि आदेश दिएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो । उक्त आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारमा दोहोरिनेले उम्मेदवारको मनोनयनअघि नै राजीनामा दिनुपर्ने उल्लेख थियो
उक्त आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
न्यायाधीश श्रेष्ठको इजलासले चैत १३ गते दुवै पक्षलाई छलफल पनि बोलाएको छ । उक्त छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिनेबारे अर्को आदेश हुनेछ ।
