काठमाडौं । बिहीबारको सेयर बजारमा कारोबार रकम बढेको छ । बुधबारको तुलनामा बिहीबारको कारोबार रकम ५८.८२ प्रतिशतले बढेको हो ।
बुधबार २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत ५ दिन अर्थात चैत १ गते यताकै उच्च कारोबार रकम हो । गत चैत १ गतेको बजारमा ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसपछिको कारोबारमा भने ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको थिएन ।
बिहीबारको बजारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भने सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ३० करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५१०० रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ८० रुपैयाँले घटी हो ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल दुरसञ्चार प्राधिकरण कम्पनी रहेको छ । कम्पनीको आज २३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कम्पनीको सेयर मूल्य पनि बुधबारको तुलनामा ४३ रुपैयाँले घटेर प्रतिकित्ता १४६५ रुपैयाँ पुगेको छ ।
कारोबार रकम बढेको बजारमा नेप्से परिसूचक भने घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ बिन्दुमा झरेको छ । जुन बुधबारको तुलनामा ०.६३ प्रतिशतले घटी हो ।
बीमाबाहेक सबै राताम्मे
बजारमा बीमा समूह बाहेक सबै समूह राताम्मे भएका छन् । जीवन र निर्जीवन बीमा समूह भने क्रमशः २.५५ र १.०५ प्रतिशतले बढेका छन् । बिहीबार फाइनान्स समूह सबैभन्दा बढी अर्थात १.९८ प्रतिशतले घटेको छ ।
परिसूचक घटेको बजारमा पनि ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार राष्ट्र उत्थान लघुवित्त संस्था, इमर्जिङ नेपाल र यूनाईटेड इदी मार्दी आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः १०, ९.९९ र ९.९३ प्रतिशतले बढेर सर्किट लागेको हो । यससँगै राष्ट्र उत्थानको प्रतिकित्ता ८१९.५० रुपैयाँ, इमर्जिङ नेपालको ७६०.७० र यूनाईटेड इदी मार्दीको सेयर मूल्य प्रतिकित्ता ९९६ रुपैयाँ पुगेको छ ।
बिहीबार नेपाल फाइनान्सको सेयर मूल्य भने सबैभन्दा बढी प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ४.६७ प्रतिशतले घटेर प्रतिकित्ता ६३३ रुपैयाँमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा ३१ रुपैयाँ कम हो ।