काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । गत एक सातादेखि निरन्तर रुपमा घटेको बजार मंगलबार पनि दोहोरो अंकले घटेको छ ।
सेयर मूल्य मापक नेप्से परिसूचक १४.२६ अंकले घटेर २५२७.५८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले घटेको हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । कारोबार रकम घटेर पौने २ अर्बमा सीमित भएको छ । सोमबार साढे २ अर्ब बढीको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ ।
मंगलबारको कूल कारोबारमध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको अन्तिम कारोबार प्रतिकित्ता १०४७ रुपैयाँमा भएको छ ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा ग्लोबल आईएमई बैंक छ । बैंकको एकैदिन ७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३१४ रुपैयाँमा भएको छ ।
त्यस्तै, घट्दो बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा प्राय सकारात्मक सर्किट लागिरहेको छ । इमर्जिङ्ग नेपालको १० प्रतिशत, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः १०१२, ८७२ र १०९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, मंगलबार होटल्स एण्ड टुरिजमबाहेक सबै समूह राताम्मे भएका छन् । होटल्स एण्ड टुरिजम समूह भने सोमबारको तुलनामा २५.५२ अंकले बढेको छ ।