
काठमाडौं । बीमा कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई तोकिएको पुँजी पुर्याउन नसके मर्जरमा जान आग्रह गरेका छन् । अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग सो आग्रह गरेका हुन् ।
ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा आज भएको छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
साथै, बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिले बीमा कम्पनी बलियो हुने भएकोले कम्पनीको हितमा रहेको बीमा कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले पूँजी बृद्धि गर्ने निर्णय गरिएको उनले प्रष्ट पारेका छन् ।
उनले भने, ‘बीमा कम्पनीहरूको पुँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बीमाको दायरा बढ्दै गएको छ, बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पुँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ ।’
अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिँदै तोकिएको अवधिभित्र चुक्ता पुँजी वृद्धिको योजना ल्याउन र तोकिएको पुँजी पुर्याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई आग्रह गरे ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पुँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको जानकारी दिए ।