काठमाडौं । पछिल्लो समय घट्दो बजारमा इमर्जिङ नेपालको सेयर मूल्य भने निरन्तर रुपमा बढिरहेको छ । हालै प्राथमिक बजारमा आईपीओ जारी गरेर दोश्रो बजारमा प्रवेश गरेको कम्पनीको सेयर मूल्य एक महिना नबित्दै ३२६.६१ प्रतिशतले बढिसकेको छ ।
इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समूह अन्तर्गतको नयाँ कम्पनी हो । कम्पनीले गत माघमा मात्रै सर्वसाधारणलाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको कम्पनी दोश्रो बजारमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै कम्पनीले २०७८ फागुन २२ गतेदेखि दोश्रो बजारमा कारोबार शुरु गरेको थियाे ।
पहिलो दिन कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८७.१० रुपैयाँमा भएको थियो । त्यसदेखि यताको कारोबारमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढ्दो क्रममा छ । फागुन २२ देखि चैत १७ गतेसम्मको अवधिमा कम्पनीको सेयर प्राय जसो सर्किट लेभलमा नै कारोबार भएर बन्द भएको थियो ।
यससँगै, हालसम्म अर्थात् चैत १७ गतेसम्म कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १२२४.८० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । र, शुरुवाती सेयर मूल्यको तुलनामा ९३७.७ रुपैयाँले बढी हो ।
कम्पनीको सेयर मूल्य मात्रै नभई कारोबार रकम र कारोबार संख्या पनि बढ्दो चरणमा देखिएको छ । चैत १७ गतेको बजारमा मात्रै कम्पनीको सर्वाधिक कारोबारसँगै कारोबार संख्या पनि सर्वाधिक छ । ५ हजार ३६० पटक खरिद बिक्री भएको कम्पनीको सेयर एकैदिन ९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
के भन्छन् लगानीकर्ता ?
दोश्रो बजारमा कम्पनीको कूल ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत भएको छ । सूचीकृत भएदेखि नै सेयर मूल्य निरन्तर बढेर नयाँ नयाँ रेकर्ड राखेसँगै कम्पनीको सेयरमा चलखेल भइरहेको हो कि भन्ने लगानीकर्तामा परेको छ । थोरै सेयर भएको कम्पनीको सेयर मूल्य लगातार बढेसँगै कम्पनीको सेयरमा कर्नरिङ भएको हो कि भन्ने आशंका हुनु स्वभाविक कुरा पनि हाे ।
लगानीकर्ता दिपेन्द्र अग्रवाल भने बजारमा आपूर्ति कम भएको कारणले पछिल्लो समय इमर्जिङ नेपालको सेयर मूल्य बढिरहेको बताउँछन् ।
‘बजारमा सप्लाई नभएर हो इमर्जिङको सेयर मूल्य बढेको,’ उनले भने ।
उनका अनुसार अहिले भइरहेको इमर्जिङको कारोबारलाई चलखेल तथा सेयर कर्नरिङ केही पनि भन्न मिल्दैन । तर, सेयर मूल्य बढिरहेको यो कम्पनीमा नयाँ लगानीकर्ताहरुलाई नफस्न् उनले आग्रह गरेका छन् ।
‘इमर्जिङको कारोबारलाई कर्नरिङ भन्न मिल्दैन, किनभने राष्ट्र बैंकको नियममा एउटा व्यक्ति, संस्था वा घर परिवारले कुनै पनि कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी सेयर राख्छ भने मात्रै त्यसलाई सेयर कर्नरिङ भन्न मिल्छ, मलाई जहाँसम्म लाग्छ अहिलेसम्म नेपालमा सेयर कर्नरिङ भएको छैन, कर्नरिङ गर्ने ग्रुप नै छैन,’ अग्रवालले भने ।
यता नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले भने कम्पनीको बढ्दो सेयर मूल्यको बारेमा खासै जानकार नभएको बताएका छन् ।
‘धेरै दिनदेखि यो कम्पनीको सेयरमा सर्किट लागिरहेको छ भन्ने मात्रै थाहा छ, के कारणले लागेको छ मैले अध्ययन गरेको छैन,’ पूर्वअध्यक्ष रौनियारले भने ।
तर, लगानीकर्ताले भने निरन्तर सर्किट लागेको कम्पनीमा लगानी गर्दा विचार पुर्याउनु पर्ने उनको भनाई छ ।
‘लगानीकर्ताहरु सर्किट लागेकोतिर लाग्नुभन्दा कम्पनीको वोर्थ कति छ, १२०० रुपैयाँ पुग्ने वोर्थ छ कि छैन, विचार गर्नुपर्छ,’ उनी भन्छन् ।
दोश्रो बजारमा कम्पनीहरुको सेयर मूल्यमा के कारणले दैनिक सर्किट लागि रहेको छ, कसले किन ठूलो भोल्युममा किनबेच गरिरहेको छ, भन्ने विषयमा लगानीकर्ताले भन्दा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अध्ययन गर्नुपर्ने लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष रौनियार बताउँछन् ।
यता नियामक निकाय धितोपत्र बोर्डले भने यस विषयमा अध्ययन भइरहेको बताएको छ ।
‘हामीले कम्पनीको पछिल्लो समय कारोबार भइरहेको मुभमेन्टलाई नियालिरहेका छौं, तर के भइरहेको छ भन्नेमा अझैपनि निर्क्योल निकाल्न सकेका छैनौं, अहिले कारोबारको ट्रेन्ड हेर्दैछौं, त्यसपछि मात्रै थाहा होला,’ बोर्ड उच्च श्रोतले भन्यो ।
सेयर कर्नरिङ भनेको के हो ?
सेयर कर्नरिङ ठूलो कम्पनीमा नभई सानो कम्पनीहरुमा मात्रै हुने सम्भावना बढी हुन्छ । कुनै कम्पनीको चुक्ता पुँजी कम छ, बजारमा सेयर कम छ भने र कम्पनीको आकर्षण बढ्दो छ भने त्यस्तो कम्पनीमा सेयर कर्नरिङको आशंका बढी हुन्छ ।
जस्तै, कुनै एउटा सानो कम्पनीको सेयर साथी साथी मिलेर या कुनै ग्रुप मिलेर सबै उठाउने र बजार बढेपछि मात्रै बेच्ने उद्देश्यले गरिएको कामलाई सेयर कर्नरिङ भन्न मिल्छ । ठूलो परिणामको सेयर हुने भएकोले बैंक तथा वित्तीय संस्थामा भने कर्नरिङ हुँदैन ।
यद्यपि, सेयर कर्नरिङको विषयमा सेबोनसँग पनि स्पष्ट परिभाषा नभएको पूर्वअध्यक्ष रौनियार बताउँछन् । तर, बजारमा क-कसले लगानीको नाममा बद्मासी गरिरहेको छ भन्ने विषयमा नियामक निकाय सेबोन, बजार सञ्चालक नेप्सेले नीति नियम बनाएर कारवाही गर्नुपर्ने उनको भनाई छ ।