काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक २५०० बिन्दुबाट तल झरेको छ । सोमबार (चैत २१ गते) को बजारमा परिसूचक १४.८८ अंकले झरेर २४९८.५३ बिन्दुमा अडिएको हो । जुन साढे तीन महिना यताकै न्यून बिन्दुु हो ।
२०७८ पुस ५ गतेको बजारमा नेप्से परिसूचक २५०७.७१ बिन्दुमा अडिएको थियो । त्यसयताको बजारमा भने परिसूचक २५ सय बिन्दुबाट तल झर्न सकेको थिएन ।
सोमबारको बजारमा परिसूचक घटेपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आइतबार १ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी इमर्जिङ नेपालको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ६ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, कम्पनीको सेयर मूल्य ९.१२ प्रतिशतले बढेर प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको छ ।
निरन्तर घटेको बजारमा पनि केही कम्पनीको सेयर मूल्यमा भने निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्ठो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १५९६.५० र १२७७.३० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार टप लुजरको अग्रस्थानमा सिटिजन्स म्युचुअल फण्ड २ रहेको छ । जसको इकाई मूल्य ५.६६ प्रतिशतले घटेर प्रतिइकाई १० रुपैयाँमा कारोबार भएको छ ।
निरन्तर रुपमा घटेको बजारमा कारोबारमा आएका सबै समूह निरन्तर रुपमा घटिरहेका छन् । सोमबारको बजारमा निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २०० अंकले ओरालो लागेको छ ।