काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । चैत २१ गते सम्पन्न कम्पनीको २१औं वार्षिक साधारणसभाले प्रस्तावित १४.०७४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै, सेयरधनीले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७४ प्रतिशत नगद लाभांश पाउनेछन् । यससँगै, प्रस्तावित बोनसपश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । जुन जीवन बीमा क्षेत्रकै सर्वाधिक चुक्ता पुँजी हो ।
सभामा अध्यक्ष गोविन्द लाल संघईले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको बताए ।
साथै, २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि आगामी दिनहरुमा अगाडि बढ्ने अध्यक्ष संघईले प्रतिवद्धता गरेका छन् ।
सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराए ।
सभाले संस्थापक सेयरधनीका तर्फबाट चार जना संचालकमा निर्विरोध निर्वाचित गरेको छ । जसमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् । त्यस्तै, साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
हाल कम्पनीको लगानी १ अर्ब ३३ खर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकका लागि २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
त्यस्तै, कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । साथै, ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।