काठमाडौं । सेयर बजार घट्ने क्रम जारी छ पछिल्लो समयदेखि निरन्तर घट्दै आएको बजार बुधबार पनि २३.३२ बिन्दुले घटेको हो ।
जुन अघिल्लो दिनको तुलनामा ०.९५ प्रतिशतले घटेर २४२८.७५ बिन्दुमा झरेको हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ९९ करोड रुपैयाँमा खुम्चिएको छ । सो दिन बढी कारोबार गर्नेको अग्रस्थानमा हिमालयन डिष्टिलरी अग्रस्थानमा छ । कम्पनीको एकैदिन ९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी इमर्जिङ नेपालको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशतले घटेर प्रतिकित्ता ११९०.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, सेयर मूल्य बढी घट्को दोश्रो स्थानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४७ प्रतिशतले घटेर प्रतिकित्ता १६६० रुपैयाँमा झरेको छ ।
घटेको बजारमा पनि नेष्ठो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । बजारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कारोबारमा आएका १३ समूहमध्ये तीन वटा समूह बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । होटल्स, म्युचुअल फण्ड र अन्य समूह सामान्य अंकले उकालो लागेका हुन् ।