काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रकम हुँदाहुँदै पनि बीमा दावी भुक्तानी गर्न नसकेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले रुजु नगरी दावी रकम दिन नमिल्ने भएकोले बीमा भुक्तानीमा ढिलाई भएको बताएका हुन् ।
रकमको अभावले गर्दा बोर्डले तत्काल दावी भुक्तानी गर्न नसकेको भन्ने बजारमा आएको हल्लामा कुनै सत्यता नरहेकोमा स्पष्ट पार्दै डा. बसौलाले अघिल्लो वर्षदेखिको रुजु गर्न बाँकी रहेकोले बीमितलाई समयमा भुक्तानी गर्न नसकेको बताए । साथै, उनले दावी परेको रकम भुक्तानी गर्नको लागि अस्पतालबाट प्राप्त भएको दावी पनि अपूर्ण हुने र बोर्डको नियमावली अनुसारका आवश्यक कागजपत्रहरु अस्पतालबाट प्राप्त नहुँदा पनि दावीहरु समयमा रुजु हुन नसक्ने उनले प्रष्टाए ।
‘आजको दिनसम्म आईपुग्दा हामीलाई फण्डको समस्या छैन, रकम नभएर हामीले भुक्तानी गर्न नसकेको होइन, रुजु गर्दै छौं, रुजु नगरि रकम दिन मिल्दैन, रुजु पनि हामीले २/४ वर्ष अघिदेखिको नै सकेर चालु वर्षको कार्त्तिकसम्मको गरिसकेका छौं, मंसिरदेखिको भने रुजु हुँदैछ, एक, कर्मचारीको अभावले गर्दा रुजु गर्न समय लागेको हो र अर्को, अस्पताल तथा बीमितहरुले बोर्डको नियमावली अनुसारको आवश्यक कागजपत्र उपलब्ध गराउन नसक्दा दावी भुक्तानी ढिलो भएको हो, तर जसरी बजारमा रकम नभएर भुक्तानी गर्न नसकेको भन्ने आइरहेको छ त्यसमा सत्यता छैन,’ उनले प्रष्ट पार्दै भने ।
स्वास्थ्य बीमा बोर्डले हाल (आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७७/७८) सम्म कूल १६ अर्ब ८० करोड रुपैयाँ बराबरको रकम भुक्तानी गरिसकेको छ भने करिब साढे ४ अर्ब रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी छ । चालु आर्थिक वर्ष (साउनदेखि फागुनसम्म) मा मात्रै कम्पनीले साढे ६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको बोर्डले जनाएको छ ।
प्रविधिमैत्री बन्दै स्वास्थ्य बीमा बोर्ड, सार्वजनिक गर्यो अनलाइन नवीकरण र मोबाइल एप सेवा
बोर्डलाई सरकारले प्रतिवर्ष साढे ७ अर्ब रुपैयाँ गरी पछिल्लो दुई वर्षमा १५ अर्ब रुपैयाँ बराबरको रकम अनुदान दिएको छ । त्यसभन्दा अघि अर्थात शुरुवाती चरणमा भने एक अर्ब पनि नरहेको अनुदान रकम दुई वर्षदेखियता बढेर साढे ७ अर्ब रुपैयाँ पुगेको बोर्डले जनाएको छ । तर अहिलेको भुक्तानीमा जम्मा साढे ४ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
तर चालु आर्थिक वर्षको अन्त्य तिर भने रकमको अभाव हुने सक्ने बोर्डको अनुमान छ । बीमितिको संख्या बढ्दो, तर सरकारले दिने अनुदान भने स्थिर रहेकोले अबका दिनमा भने बीमितलाई दिने दावी भुक्तानीको लागि रकम अभाव हुने सक्ने उनले बताए ।
‘गत वर्षको तुलनामा यो वर्षमा मात्रै ४० प्रतिशत बीमितको संख्या बढ्यो, बीमितको संख्यासँगै दावी पर्नेको संख्या पनि बढ्यो, तर सरकारले दिने अनुदान साढे ७ अर्ब रुपैयाँबाट अहिले पनि साढे ७ अर्ब नै छ, यसले गर्दा चालु वर्षको अन्तिमसम्ममा सरकारको अनुदान हामीलाई नपुग्नु स्वभाविक छ, तर आजको दिनसम्म रकमको अभाव भएको छैन,’ कार्यकारी निर्देशक बसौलाले भने ।
साथै, बोर्डले अर्को आर्थिक वर्षसम्म भने दावी भुक्तानी बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यसको लागि बोर्डले नयाँ सफ्टवेयर बनाएर अधिकांश सेवाहरु सफ्टवेयरबाटै दिएर अहिलेको समस्या समाधान गर्नेतिर लाग्ने बताएको छ ।
‘सरकारले स्वीकृत दिए आगामी वर्षमा बोर्डको लागि ८/९ सय जनाको कर्मचारी दरबन्दी खुल्छ, त्यसपछि प्रत्येक अस्पतालमा, प्रत्येक स्थानीय तहमा, प्रत्येक वडा तथा पालिकामा, प्रत्येक नागरिकको घरघरमा बीमा बोर्डका कर्मचारी मोबिलाइज्ड हुन्छ, अनुगमनमा समय हुन्छ र त्यहाँ स्वास्थ्य सेवामा आउने समस्याहरु समाधान हुनेछ,’ चैत २४ गते छैठौं स्वास्थ्य बीमा दिवसको अवसरमा बोल्दै बोर्डका कार्यकारी निर्देशकले जानकारी गराए ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्डमा कर्मचारीको अभाव भएको गर्दा हाल अनुगमन गर्न नसकेको र नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको समेत बोर्डका कार्यकारी निर्देशकले स्वीकारेका छन् । यो सेवामूलक कार्यक्रम भएको हुनाले विभिन्न सरकारहरु लगायत बीमा बोर्ड लगायत अस्पतालहरुको हेर्ने दृष्टिकोण र हेर्ने बुझाई एउटै हुनुपर्नेमा त्यसमा ज्ञ्याप भएकाले पनि बोर्डलाई चुनौति छ । त्यसको सम्बोधन गर्न बोर्डले प्रत्येक निकायमा एउटा स्वास्थ्य बीमा संयोजन समिति बनाएर सबै स्थानिय सरकारलाई अपनत्व लिन लगाउनु पर्ने बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए ।