काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै २६.७२ गुणा बढी आवेदन परेको छ । संस्थाले चैत २५ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सो मात्राको आवेदन परेको हो ।
सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)का अनुसार बिहान १० बजेदेखि बिक्री खुला भएको उक्त सेयरमा साँझ ५ बजेसम्ममा ५ लाख ७ हजार १९८ जनाले आवेदन दिएका छन् । उनीहरुले ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको ५९ लाख ९ हजार ९८० कित्ता सेयर माग गरेका हुन् ।
संस्थाले २ लाख २६ हजार २५० कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । र, बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो ।
उक्त सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले चैत २९ गतेसम्म आवेदन दिन पाउने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
संस्थाको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
हाल ४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ पश्चात ६ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।