काठमाडौं । उद्यमशीलता विकासको लागि स्थानीय तहहरूले बर्सेनि लाखौं रुपैयाँ खर्च गर्दै आएका छन् । खर्च गरे अनुसारको उपलब्धि भने शून्य जस्तै छ ।
सिप सिकाएर रोजगारी सिर्जना गर्नको स्थानीय तहले गाउँगाउँमा युवा उद्यमशीलता सुरुवात गरेका थिए । सो कार्यक्रम धेरै स्थानीय तहमा सञ्चालन भएपनि प्रभावकारी नभएको पाइएको छ ।
स्थानीय तहमा यो काम प्रभावकारी रुपमा गर्न नसकेको धेरै जनप्रतिनिधिहरू नै स्वीकार गर्छन् ।
सीप सिकेर पनि धेरैले काम गर्न नसकेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । सीप सिकेर नै उद्यमी बनी रोजगारी गरेर राम्रो आम्दानी गर्न सफल भएको पनि समाजमा धेरै उदाहरणहरू छन् । उद्यमी बन्नको लागि पनि आर्थिक अवस्था नै राम्रो हुनुपर्छ । आर्थिक अवस्था राम्रो बनाउनको लागि विभिन्न स्थानीय तहहरुले रोजगार बन्नका लागि सस्तो व्याजमा ऋण दिँदै आएका पनि छन् ।
काठमाडौं उपत्यका भित्रका स्थानीय तहले ५ वर्षको अवधिमा उद्यमशीलता विकासमा गरेका काम बारेमा हामीले यो समग्र तयार पारेका छौं ।
बूढानीलकण्ठ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा उद्यमशीलता विकासको लागि १९ लाख ६० हजार रुपैयाँ बजेट गरेको थियो । सो रकमबाट नगरपालिकाले ८० जनालाई सीप सिकाई उद्यमी बनाउने लक्ष्य राखेको थियो ।
जसमध्ये ७७ जनालाई तालिम दिन सकेको नगरपालिकाका उद्यम विकासका सहजकर्ता जनार्दन मिश्रले बताए ।
सो आर्थिक वर्षमा विभिन्न वडाका ती ७७ जनालाई नगरपालिकाकाले डल तथा कुसन, अचार बनाउने, एडभान्स सिलाई कटाई र तरकारी तथा पशुपालनको तालिम दिएको थियो । उक्त तालिममा ७० प्रतिशत महिलाको सहभागिता थियो ।
सहजकर्ता मिश्रका अनुसार सो तालिमम दिनको लागि नगरपालिकाले ९ लाख ३२ हजार रुपैयाँ खर्च गरेको छ । तालिम दिएको ७७ जना मध्ये १९ जनामा उद्यमी बनेका छन् भने १० जनाले संस्था दर्ता गरे पनि काम नगरेको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ मा उद्यमशीलता विकासको लागि नगरपालिकाले २२ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस आर्थिक वर्षभित्रमा नै ९० जनालाई सीप सिकाइ रोजगार बनाउने लक्ष्य छ ।
नगरपालिकाले यस आर्थिक वर्ष भित्रमा कफी, ढाका, सिलाई बुनाई, ब्युटी पार्लर, रेशमको धागोबाट गहना, तरकारी र बेकरीको तालिम दिने योजना बनाएको मिश्रले जानकारी दिए । नगरपालिकाले ४.५ प्रतिशत व्याजदरमा उद्यमी बन्न चाहनेहरुलाई एकदेखि ५ लाख रुपैयाँसम्म ऋण पनि उपलब्ध गराउँदै आएको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले उद्यमशीलता विकास कोषमा ७५ लाख रुपैयाँ बजेट बिनियोजना गरेको छ । व्यावसायिक बन्न चाहानेहरुले सो कोषले ५० हजार रुपैयाँ दिँदै आएको छ । उक्त ऋणको लागि आवश्यक पर्ने २३ जनाले आवेदन दिएको नगरपालिकाले जानकारी दिएको छ ।
उद्यमशीलता विकासका लागि बर्सेनि तालिम दिँदै आए पनि पूर्णरूपमा उद्यमी बनाउन नसकेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी बताउँछिन् ।
उनका अनुसार महानगरपालिकाले युवाहरूलाई अचार, जुत्ता, माला, हस्तकला, मकैको खोस्टाको फूल बनाउने जस्ता तालिम दिँदै आएको छ ।
‘उद्यमशीलता विकासकाको लागि मैले आवाज उठाइरहेको छु, वडागत रूपमा नै तालिम सञ्चालन गर्यौं, बजेट पनि निकै खर्च भयो तर, उपलब्धि भने शून्य भयो,’ उनले भनिन् ।
केही दिन अगाडिमात्र महानगरपालिकाले हस्तकलाको तालिम सम्पन्न गरेको छ ।
महानगरपालिकाले उद्यमशीलताको तालिम दिएपछि धेरै बेरोजगार युवा रोजगार बनेको उनले दाबी गरिन् । बजार व्यवस्थापन हुन नसकेकोले पनि तालिम प्रभावकारी हुन नसकेको पनि उपप्रमुख खड्गीले बताइन् । महानगरपालिकाले केही महिनापछि महिला उद्यमीको कार्यक्रम सञ्चालन गर्न तयारी गरिरहेको छ ।
‘सीप सिकेर उत्पादन गरेकोकाहरुले राम्रो आम्दानी गर्न पनि सफल भएका छन्, हामीले वडागत रूपमा यसका तालिम पनि सञ्चालन गर्यौं, तालिममा सहभागी भई धेरै जना रोजगार पनि बनेका छन्,’ उनले भनिन् ।
उद्यमशीलता विकासको लागि नगरपालिकाको सीपमूलक सामूहिक तालिमहरू दिँदै आएको गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले बताइन् ।
उपप्रमुख नेपालका अनुसार तालिम दिएर धेरै दिदिबहिनिहरु आफ्नै उद्योगहरू सञ्चालन गरी बसेका छन् । नगरपालिको ग्रामीण उद्योग भनेर सिलाई कटाइ, जुक्त बनाउने, अचार, कफी र साबुन बनाउने लगायतका तालिमहरू दिएको छ ।
‘मलाई महिला दिदीबैनीले उद्योग सञ्चालन गरेर बसेकोमा खुसी लागेको छ, उनीहरूले रोजगार भएर बसेका छन्,’ उनले भनिन् ।
नगरपालिकामा ६ सय महिला समूह छन् । यीमध्ये तालिम लिएको समूह ५ सय भन्दा बढी छन्, जसमध्ये तालिम लिएर उद्योग सञ्चालन गरे बस्ने समूह २५ वटामात्र रहेको पनि नेपालले जनाइन् ।
‘कस्तो खालको तालिम लिने हो, त्यो अनुसारको हामी बजेट विनियोजन गछौं, ५० हजारदेखि ६ लाख रुपैयाँसम्म नगरपालिकाले तालिम दिनको लागि एउटा समूहलाई खर्च गर्दै आएको छ,’ उनले भनिन् ।
समूहगत व्यापार व्यवसाय सञ्चालन गर्न चाहने र ऋणको आवश्यकता छ भने बैंक तथा बित्तिय संस्थासँग सहजीकरण गरिदिने र १० लाख रुपैयाँसम्मको व्याज पनि नगरपालिकाले तिरिदिन्छ, तर हालसम्म कुनै पनि समूह ऋण लिन नआएको नगरपालिकाले जनाएको छ । उद्यमशीलताको विकासमा यो ५ वर्षको अवधिभरमा धेरै राम्रो काम गर्न सफल भएको भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन् ।
उपप्रमुख जोशीका अनुसार युवाको सीप विकासको लागि नगरपालिकाकाले पर्यटनसँग जोडेर विभिन्न भाषा, होटेलको लागि कुक तथा हस्तकलाकाका सामानहरू बनाउने तालिम दिएको छ ।
‘उद्यमशीलताले जनतासँग रहेका निष्क्रिय बचत परिचालन गरेर पुँजी निर्माणमा वृद्धि गर्दछ , उद्यमशीलताले नयाँ–नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पुर्याएको भएकाले उद्यमी बन्नेहरुको लागि नगरपालिकाले सहजीकरण गर्दै छ,’ उनले भनिन् ।
नगरपालिकाले युवाको क्षमता विकासमा गरेको लागानिरको प्रतिफल प्रभाकारी बन्न पुगेको पनि उनी दाबी गछिन् । सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी उद्यमशीलताको विकास गर्ने योजना नगरपालिकासँग रहेको छ ।