काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त सेयर बाँडफाँड चैत २९ गते मंगलबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा भएको हो ।
क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये १ लाख ६६ हजार ३४५ जनाले कम्पनीको १० कित्ता सेयर पाएका छन् । त्यसमध्ये तीन जनालाई बाँकि रहेको ३ कित्ता सेयर एक÷एक कित्ता गरी कूल ११ कित्ता सेयर हात पारेका छन् ।
उक्त आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये २१ लाख ६८ हजार १०० जनाको आवेदन रितपूर्वक रहेको र बाँकी ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् ।
उक्त सेयरमा मागभन्दा बढी आवेदन परेकोले क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड गरेको हो ।
कम्पनीले कूल १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ७३ हजार ११९ कित्ता सेयर कर्मचारीलाई र एक लाख ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो ।