२०९ अंकले बढ्यो नेप्से परिसूचक, आठ महिनामै साढे १ खर्बको धितोपत्र सूचीकृत

<p>काठमाडौं । २०७८ फागुन मसान्तमा सेयर मूल्य मापन नेप्से परिसूचक २६६८.१ बिन्दुमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०९.६ अंकले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ फागुन मसान्तमा उक्त सूचक २४५८.५ बिन्दुमा रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ८७ करोड रुपैयाँबाट बढेर ३७ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । २०७८ फागुन मसान्तमा सेयर मूल्य मापन नेप्से परिसूचक २६६८.१ बिन्दुमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०९.६ अंकले बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ फागुन मसान्तमा उक्त सूचक २४५८.५ बिन्दुमा रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ८७ करोड रुपैयाँबाट बढेर ३७ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा सूचीकृत कम्पनीको संख्या पनि बढेको छ । २०७७ फागुनमा २१७ रहेको सूचीकृत कम्पनीको संख्या २०७८ फागुनमा बढेर २२८ पुगेको छ । २०७८ फागुनमा सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०७८ फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनासम्ममा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३७ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनस सेयर, २९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, १७ अर्ब ८३ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब १८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब रुपयाँ बराबरको म्युचअल फण्ड र २ अर्ब ८४ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

Share News