
काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरी चुक्ता पुँजी २ अर्ब ५० करोड बनाउने गृहकार्य थालेको छ । समयमै तोकिएको पुँजी वृद्धिको लागि कम्पनीले योजना बनाई नियामक निकाय बीमा समितिमा पेश गर्ने तयारी गर्दै प्रकृया अघि बढाएको हो ।
२०७८ चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाले कम्पनीको हकप्रद योजनालाई पास गर्दै बीमा समितिमा पेश गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको हो । सोही अनुसार कम्पनीले उक्त योजना बीमा समितिमा पेश गर्न लागेको हो । सम्भवतः बीमा कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्स सबैभन्दा पहिले पुँजी वृद्धिको योजना पेश गर्ने कम्पनीमा पर्ने देखिएको छ ।
कम्पनीले हकप्रद सेयरबाट मात्रै चुक्ता पुँजी बढाउने गरी प्लान बनाएको र उक्त योजना समितिमा पेश गर्ने तयारी गरिरहेको प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा बताउँछिन् ।
‘हामीले अहिले हकप्रदबाट मात्रै पुँजी बढाउने प्लान गरेका छौं, जुन सभाबाट पनि पास भइसक्यो,’ प्रष्ट पार्दै उनले भनिन् ।
उनका अनुसार प्रभु इन्स्योरेन्सले मर्जरलाई भन्दा बढी प्राथमिकता हकप्रद सेयरलाई दिएको छ । पुँजी वृद्धिको लागि हकप्रद जारी गर्ने योजना भएपनि अहिले यति नै जारी गर्ने भनेर खुलाउन नमिल्ने अध्यक्ष लामाले बताइन् ।
‘समितिमा पुँजी वृद्धि प्लान पेश गर्दैछौं, प्लान पास भएपछि मात्रै कम्पनीले कति हकप्रद जारी गर्ने खुलाउँछौं, तर अहिले नै यति जारी गर्दैछौं भनेर भन्न मिल्दैन,’ विकासन्युजसँग उनले भनिन् ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ रहेको छ । हालै कम्पनीले चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणासभाबाट पारित गरेको छ । बोनस सेयर पश्चात कम्पनीको पुँजी १ अर्ब २८ करोड रुपैयाँ नाघ्नेछ ।
समितिको नयाँ निर्देशन अनुसार चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन कम्पनीलाई थप १ अर्ब २१ करोड रुपैयाँ आवश्यक पर्छ । यससँगै, कम्पनीले हकप्रदलाई मात्रै फोकस गर्ने हो भने अब ९३.८४ प्रतिशत हकप्रद सेयर जारी गर्नुपर्ने देखिन्छ ।
यता बीमा समिति भने हकप्रद सेयरबाट भन्दा मर्जबाट पुँजी वृद्धि गराउने पक्षमा रहेको छ । थोरै पुँजी बढाउनु पर्ने कम्पनीलाई हकप्रद स्वीकृति दिएपनि धेरै बढाउनुपर्ने कम्पनीलाई हकप्रदबाट मात्रै पुँजी बढाउन नदिने र मर्जर तथा एक्विजिसनमा जानै पर्ने समितिको धारणा छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सीईओहरुसँगको पछिल्लो अन्तर्क्रियाहरूमा मर्जरलाई केन्द्रमा राखेर पुँजी वृद्धि योजना माग गरिएको बताएका थिए।
प्रभु इन्स्योरेन्सकी अध्यक्ष लामाले हाल कम्पनीले हकप्रदमा मात्रै फोकस गरेको र सम्भवतः मर्जरमा जान नपर्ने बताइन् । तर पनि कम्पनीको योजनामाथि समितिबाट आएको प्रतिकृया अनुसार नै अघि बढ्ने उनको भनाइ छ ।
‘अब योजना पेश भएपश्चात समितिले के भन्छ, त्यहि अनुसार जान्छौं, तर हामी मर्जरमा फोकस छैनौं, राइट सेयरमै फोकस छौं, सायद मर्जरमा जान आवश्यक नपर्ला,’ उनले भनिन् ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको उद्देश्य संख्या घटाउनु नै भएको र संख्या घटाउनतिर नै समितिको प्रयास हुने विकासन्युजलाइ बताए । उनले बैशाख २ गते बिहानसम्ममा पुँजी वृद्धिको योजना लिएर कुनै पनि कम्पनी समितिमा नआएको बताएका छन् ।
आगामी बैशाख १० गतेसम्मको समय भएकोले कम्पनीहरु अब भटाभट आउन सक्ने उनको भनाई छ । समितिले गत चैत १० गते नै बीमा कम्पनीहरुले पुँजी बढाउनु पर्ने र उक्त पुँजी वृद्धिको योजना एक महिनाभित्रमा समितिमा पेश गरिसक्न निर्देशन दिएको थियो ।