काठमाडौं । फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका ५ वर्षमा १५ पटकभन्दा बढी समय फेल भएको छ । कार्यकाल सकिन लागेको काठमाडौं महानगरपालिकाको ५ वर्षे अवधि फोहोर व्यवस्थापनको दृष्टिकोटबाट असफल बनेको तथ्यले देखाएको हो ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको ५ वर्षे कार्यकालमा १५ पटकभन्दा बढी समय नियमित फोहोर संकलन अवरुद्ध भयो । कहिले कोभिडको त्रास, कहिले फोहोर संकलन केन्द्र सिसडोलबासीको अवरोध तथा कहिले ल्याण्डफिल्ड साइड नै भरिएको भन्दै फोहोर संकलनमा समस्या आएको थियो ।
फोहोर व्यवस्थापन काठमाडौं महानगरको सबैभन्दा ठूलो चुनौति जस्तै बनेको छ । फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा सडकको पेटीमा फोहोरको थुप्रो हप्तौं पहाड जत्रो भए बस्ने गरेको छ ।
यो समस्यालाई काठमाडौं महानगरपालिकाले दीर्घकालीन रूपमा समाधान गर्न सकेन । महानगरले फोहोरको व्यवस्थापन गर्न भनेर बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँ उपलब्ध गराउन नसक्दा यो समस्या आएको हो ।
अहिले पनि लामो समयदेखि फोहोरको उठ्न नसकेको कारण शहरै दुर्गन्धित भएको छ । जसका कारण सहर मात्रै कुरूप बनेको छैन त्यसले मानव स्वास्थ्यलाई पनि गम्भीर असर पारिरहेको छ ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं महानगरभित्रको फोहोर व्यवस्थापन गर्ने जिम्मा महानगरकै भए पनि उचित र प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।
काठमाडौंका सडकबाट फोहोर नउठ्नु कुनै नौलो समस्या होइन । कुनै समय महिनामा दुई–तीन पटकसम्म फोहोर उठ्दैन । जसका कारण दुई सातासम्म सडकमा फोहोरको चुली बन्छ । हरके वर्ष, हरेक साल फोहोरको व्यवस्थापन हुन एउटा ठुलो चुनौतीको विषय जस्तै भएको छ ।
यसै सन्दर्भमा हामीले काठमाडौं महानगरपालिकामा निर्वाचित भएर जनप्रतिनिधि आएपछि कुन वर्षको कुन कुन समयमा कति कति दिन फोहोर व्यवस्थापनमा समस्या भयो भनेर यो सामग्री तयार पारेका छौं ।
महानगरमा निर्वाचित जनप्रतिनिधि आएपछि एकै महिनामा महिनामा २ पटकसम्म फोहोरको समस्या आएको देखिन्छ ।
२०७४ को कात्तिक महिनामा काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर महिनौं पछि उठेको थियो । ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।
पछि काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठेको थियो । ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरूले फोहोर फाल्न अवरोध गरेका थिए ।
महानगरले आवास प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक ५० रुपैयाँ दिँदै आएकोमा उक्त रकम घटाएको कारण स्थानीयले विरोधस्वरुप फोहोर फाल्न अवरोध गरेको थिए ।
२०७५ मा पनि ४ पटक फोहोर व्यवस्थापनमा समस्या आएको देखिन्छ । असार, साउन र भदौमा संकलन गरेर फोहोर फाल्ने ठाउँको अभाव भएको थियो । यस्तै कात्तिक महिनामा फोहोर व्यवस्थापन सम्झौता अलपत्र परेको थियो । त्यस कारण साउन महिना भर काठमाडौंको फोहोरको व्यवस्थापन हुन सकेन । करिब एक महिनादेखि फोहोर थुप्रिएको थियो ।
२०७६ सालमा पनि महानगरपालिकालाई फोहोरको व्यवस्थापन गर्न सकस परेको थियो । असारमा ५ दिन र चैत्रमा १० दिन फोहोर उठेको थिएन भने मंसिर र वैशाखमा उपत्यकाको फोहोर कहाँ फाल्ने भन्ने समस्या भएको थियो । सो समयमा सिसडोल ल्याण्डफिल साइट बन्द गरेकोले समस्या परेको थियो ।
कोभिड संक्रमण सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गरेको २ दिनपछि नै उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या देखापरेको थियो ।
२०७७ सालमा पनि महानगरपालिकालाई फोहोरको कुराले छोडेन । साउन महिनामा कोरोना महामारीले सरसफाइमा बाधा पुर्याएको भन्दै काठमाडौं महानगरपालिकाले सकेसम्म घरैमा फोहोर व्यवस्थापन गर्न अपिल गरेको थियो । महानगरपालिका वातावरण विभागले आवतजावत बन्द गरिएका क्षेत्रभित्र फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको हो ।
सो सालकै चैत महिनामा एक हप्ता काठमाडौं उपत्यकाको फोहोर उठेको थिएन । फोहर फाल्ने स्थान नुवाकोटको सिसडोलका बासिन्दाहरूले आफ्ना माग सम्बोधन गरेपछि मात्र फोहर फाल्न दिने अडान लिएका फोहोर नउठेको हो । पटक पटक महानगरले सम्झौता लागु नगरेको भन्दै सिसडोलबासीले फोहर फाल्न अवरोध गरेका थिए ।
२०७८ सालमा पनि महानगरपालिकालाई फोहोरले नै पिरोल्यो । यस सालमा फागुनमा ९ दिन, असारमा २ हप्ता, भदौमा एक हप्ता, चैत्रमा १० दिन र साउनमा एक साता फोहोर उठ्न सकेन ।
फागुनयता ५७ दिनमा मात्रै काठमाडौंको फोहोर २२ दिन उठेको थिएन । अघिल्लो महिना १ फागुनदेखि उठ्न छाडेको फोहोर १२ फागुनदेखि संकलन सुरु भएको थियो । तर, चैत १८ देखि फेरि उठ्न छाडेको थियो । २८ मंसिरदेखि ८ पुससम्म १० दिन पनि फोहोर उठेको थिएन ।
महानगरको वातावरण विभागले एक सूचना जारी गर्दै उपत्यकावासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन भनेको थियो ।
महानगरले फोहोरको व्यवस्थापन गर्न नसक्दा आलोचना पनि खेपिरहेको छ । उपत्यका भित्रको फोहोर व्यवस्थापन गर्न नुवाकोट र धादिङ जिल्लामा पर्ने बन्चरे डाँडामा बनिरहेको ल्यान्डफिल साइट निर्माण भइरहेको छ ।