काठमाडौं । विसं २०७८ भदौ २ गते कीर्तिमानी बिन्दुमा पुगेको नेप्से परिसूचक लगातार ओरालो लाग्ने क्रम रोकिएको छैन । भदौ २ गते ३१९८.६० बिन्दुमा पुगेकै नेप्से वैशाख ८ गतेसम्म आइपुग्दा ८७३.१५ अंकले घटेर २३२५.४५ विन्दुमा सीमित भएको छ ।
पछिल्लो साता पनि सेयर बजारमा गिरावत आएको छ । सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो साता ८९.७९ अंकले गिरावट आएको हो ।
नेप्से ३२०० विन्दुमा पुग्दा झण्डै २२ अर्बसम्म कारोबार गरेका लगानीकर्ता अहिले अन्योलमा रहँदा कारोबार रकम खुम्चिएर १ अर्बमा झरेको छ । यो हप्तालाई नै आधार मान्ने हो भने ५ दिनको कारोबारमा दुई दिन सामान्य अंकले बढ्दा ३ दिन उच्च अंकले गिरावट आएको छ ।
सातामा दुई दिन सामान्य वृद्धि भएता पनि तीन दिन नेप्से उच्च अंकले गिरावट हुँदा बजार २४ सयको बिन्दुमा पुग्न सकेन । साताको पहिलो कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको थियो । र, आइतबार कारोबारमा आएका २३३ कम्पनीको ३४ लाख ७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको थियो । सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
मंगलबार भने नेप्से परिसूचक सामान्य १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा माथि पुगेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता सेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
मंगलबार नेप्से सामान्य अंकले बढे पनि बुधबार भने नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेका थियो । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ ।
बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको छ । बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।