
काठमाडौं । बीमा समितिमा कूल २४ वटा बीमा कम्पनीले मात्रै पुँजी वृद्धिको योजना पेश गरेका छन् । समितिका अनुसार तोकिएको पुँजी पुर्याउन आवश्यक देखिएका ३८ वटा कम्पनीमध्ये २४ वटाले मात्रै आफ्नो क्यापिटल प्लान पेश गरेका हुन् ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अन्तिम दिन (बैशाख ११ गते) सम्ममा १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटा निर्जीवन बीमाले पुँजी वृद्धिको प्लान बुझाएका हुन् ।
जसमा जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफले क्यापिटल प्लान पेश गरेका छन् । उनीहरुले हालको चुक्ता पुँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउने गरी प्लान पेश गरेका हुन् ।
यस्तै, निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्सले पुँजी वृद्धिको योजना समितिमा पेश गरिसकेका छन् । यी कम्पनीले चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्याउने योजना बनाई बीमा समितिमा पेश गरेका हुन् ।
हालसम्म पुँजी वृद्धिको प्लान पेश नगर्नेमा जीवन र निर्जीवन गरी कूल १४ वटा कम्पनी रहेका छन् । जसमा जीवन बीमा अन्तर्गतका ६ कम्पनी (राष्ट्रिय बीमा संस्थान, प्राइम, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल र प्रभु) र निर्जीवन बीमा अन्तर्गतका ८ कम्पनी (दि ओरियन्टल, नेशनल, हिमालयन जनरल, प्रिमियर, प्रभु, एनएलजी, सिद्धार्थ र राष्ट्रिय बीमा कम्पनी) छन् ।
समितिले २०७८ चैत १० गते एक सूचनामार्फत एक महिना भित्रमा पुँजी वृद्धिको प्लान पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही अनुसार कम्पनीहरुले २०७९ बैशाख १० गतेभित्रमा आ-आफ्नो क्यापिटल प्लान बुझाईसक्नु पर्ने थियो । तर बैशाख १० गते शनिबार परेकोले समितिले बैशाख ११ गतेसम्मलाई उक्त म्याद थपेको हो ।
समितिले उक्त निर्देशन मार्फत जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । उक्त पुँजी वृद्धिको योजना एक महिनाभित्रमै समितिमा पेश गर्नुपर्ने र एक वर्षभित्र अर्थात २०७९ चैत मसान्तभित्रमा कार्यान्वयनमा ल्याउन समितिको निर्देशन थियो ।
यता जीवन बीमा व्यवसाय गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सलाई भने चुक्ता पुँजी वृद्धिको प्लान पेश गर्न दवाव थिएन । कम्पनीकाे चुक्ता पुँजी ८ अर्ब रुपैयाँभन्दा बढी रहेकोले इन्स्याेरेन्सलाई पुँजी वृद्धिको दवाव नपरेको हो ।
सम्बन्धित समाचार