काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले आज अर्थात बैशाख १३ गतेदेखि साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्गका दोर्दी गाउँपालिकाका स्थानिय बासिन्दाहरुको लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता सेयर बिक्रीमा राखेको हो ।
यससँगै उक्त गाउँपालिका अर्थात साविककको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सा र हिलेटक्सार गाविसकका स्थानियले उक्त सेयरमा आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
उक्त सेयरको निष्काशन बन्द छिटोमा बैशाख २७ गते बैंकिङ्ग समयपश्चात हुने छ । यदि सो अवधिसम्म पनि माग बमोजिमको आवेदन नपरेमा ढिलोमा जेठ ११ गते (बैंकिङ्ग समयपश्चात) सम्म बिक्री खुला गरिने व्यवस्था छ ।
इच्छुकले लमजुङ्गमा रहेको सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको शाखाबाट र काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको शाखामार्फत आवेदन फारम बुझाउन सक्ने छन् ।
कम्पनीले दोर्दी १ जलविद्युत आयोजनामा अनुमानित कूल २ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको छ । आयोजनाको विद्युत उत्पादनको अवधि अब २६ वर्ष अर्थात २१०४ माघ ११ गतेसम्म बाँकी रहेको छ । साधारण लगानी ७.६७ वर्षमा फिर्ता हुने र डिस्काउण्टमा १८.०३ वर्षमा फिर्ता हुने जनाइएको छ ।
आर्थिक वर्ष २०७८र७९ मा कम्पनीको प्रतिसेयर आम्दानी ४.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.२७ रुपैयाँ पुग्ने अनुमान छ । त्यस्तै, सो अवधिमा संचित नाफा ५ करोड ५५ लाख रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।