नेपाली सेनाको स्कटीङमा मतपत्र ढुवानी हुँदै

<p>काठमाडौं । निर्वाचन आयोगले स्थानीत तह निर्वाचनका लागि मंगलबारदेखि ६३ जिल्लामा मतपत्र ढुवानी सुरु गर्ने भएको छ । आयोगले सोमबारसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएपछि ढुवानी सुरु गर्न लागेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छपाई भएका मतपत्र आजदेखि सम्बन्धित जिल्लामा ढुवानी [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगले स्थानीत तह निर्वाचनका लागि मंगलबारदेखि ६३ जिल्लामा मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।

आयोगले सोमबारसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएपछि ढुवानी सुरु गर्न लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छपाई भएका मतपत्र आजदेखि सम्बन्धित जिल्लामा ढुवानी गर्न लागिएको जानकारी दिए । आयोगले मतपत्र छपाईको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ ।

‘जनक शिक्षा सामग्री केन्द्रमा नेपाली सेनाको कडा सुरक्षा निगरानीमा मतपत्र छपाईको काम हुँदै आएको छ, आजदेखि सेनाको स्कटिङमा ६३ जिल्लामा मतपत्र ढुवानी सुरु हुन्छ’, उनले भने, ‘मतपत्र छपाईदेखि जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सेनाकै कडा सुरक्षा निगरानीमा मतपत्र राखिन्छ । मतपत्र ढुवानीदेखि रेखदेखको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिईएको छ ।’

निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।

पहिलो चरणको ढुवानी कर्णाली प्रदेशमा

आयोगले पहिलो चरणमा मतपत्र ढुवानी कर्णाली प्रदेशका लागि गर्न लागेको छ । नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो ।

आयोगले कर्णाली प्रदेशमा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । उपत्यकासहित १० जिल्लाको मतपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा आयोगले छपाइ सकिएका जिल्लामा मत्रपत्र ढुवानी शुरू गरेको हो ।

आयोगले हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट मतपत्र ढुवानी गर्ने जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गत चैत १६ गतेबाट मतपत्र छपाइको काम शुरू भएको थियो ।

Share News