काठमाडौं । मंगलबारको सेयर कारोबार एक अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन धेरै पछिको न्यून कारोबार रकम हो भने सोमबारको तुलनामा ४९ प्रतिशतले घटी हो ।
सोमबार २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार कूल १ अर्ब ४ करोड रुपैयाँ बराबरको मात्रै किनबेच भएको छ । पछिल्लो समय कम्पनीहरुको सेयर मूल्य घट्दो क्रममा रहेकोले त्यसको असर पनि कारोबार रकममा परेको देखिन्छ ।
बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि घटेको छ । परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले घटी हो ।
मंगलबारको बजारमा सिद्धार्थ बैंकको बढी कारोबार भएको छ । बैंकको एकैदिन ४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपि पावर रहेको छ । कम्पनीको ४ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
घट्दो बजारमा पनि जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा किनबेच भएको छ । संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९४४.४० रुपैयाँमा कारोबार भएको छ ।
बजारमा उत्पादनमूलक र म्युचअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । मंगलबार हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.४१ प्रतिशतले घटेर प्रतिकित्ता ४२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।