‘मैले चुनाव जितें भने भरतपुरलाई संसारको राम्रोमध्येको सहर बनाउँछु’

<p>भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका नेता विजय सुवेदी उम्मेदवार बनेका छन् । राजनीतिसँगै सामाजिक काममा पनि सक्रिय सुवेदीले चार दशकभन्दा बढी सयमदेखि राजनीतिमा सक्रिय छन् । सुवेदी एमाले चितवनका तीन पटक पार्टी नेतृत्व हाँक्नुका साथै वाग्मती प्रदेशका पूर्वमन्त्री पनि हुन् । सुवेदी अहिले एमाले वाग्मती प्रदेश कमिटीका सचिव हुन् । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार [&hellip;]</p>

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका नेता विजय सुवेदी उम्मेदवार बनेका छन् । राजनीतिसँगै सामाजिक काममा पनि सक्रिय सुवेदीले चार दशकभन्दा बढी सयमदेखि राजनीतिमा सक्रिय छन् । सुवेदी एमाले चितवनका तीन पटक पार्टी नेतृत्व हाँक्नुका साथै वाग्मती प्रदेशका पूर्वमन्त्री पनि हुन् । सुवेदी अहिले एमाले वाग्मती प्रदेश कमिटीका सचिव हुन् ।

भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका सुवेदी आफूले चुनाव जित्ने दाबी गर्छन् । केही दिन अगाडि मात्र सुवेदीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक समेत गरेका छन् । उम्मेदवार सुवेदीसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी :

भरतपुर महानगरको मेयर पदमा एमालेबाट धेरै नेता आकांक्षी थिए, तर कसरी तपाईंले नै टिकट पाउनु भयो ?

नेकपा एमालेबाट यस पटक सर्वसम्मत रुपमा नै मलाई उम्मेदवार उठाएको हो । अघिल्लो निर्वाचनमा देवी ज्ञवाली उठ्नु भएको थियो, तर उहाँलाई हराइयो । अब पुन देवी ज्ञवाली नै उम्मेदवार हुनुहुन्छ भन्ने अडकल थियो । र, मैले पनि त्यही सोचाइ बनाएको थिएँ ।

पुरानै परम्परा, शैली र पुरानै व्यक्तिको बीचमा प्रतिस्पर्धा हुँदा चुनाव त्यति राम्रो हुँदैन भनेर उहाँ (देवी ज्ञवाली) को सोच पलाएछ । त्यसपछि मलाई चितवनको विकासका लागि तपाईले ठूलो सहयोग पुर्याउनु भएको छ, तपाई यस पटकको निर्वाचनमा उम्मेदवारी दिनुहोस् भनेर उहाँले नै भन्नु भयो । त्यसो भनिसकेपछि भरतपुर महानगरपालिकाको मेयरमा पार्टीले मलाई टिकट दिने निर्णय गरेको हो । केही साथीहरू मेयरको आकाङ्क्षी पनि थिए । तर पनि सबैको सहमतिबाट नै मैले मेयरको टिकट पाएको हुँ ।

मेयर पदमा तपाईंले चुनाव जित्ने आधार के हुन् ?

चितवन भनेको सचेत नागरिकहरू बसोबास भएको ठाउँ हो । यहाँ आदिवासी र सबै जिल्लाबाट बसाइसराई गरेर आएका नागरिकहरूको पनि बसोबास छ । मत परिणाम सधैभरि एउटै रहँदैन । हरेक निर्वाचनमा फरक फरक परिणाम आउने गरेको छ । महानगरपालिका बनेपछि चितवनमा विकासको जुन रूपरेखा कोरिनु पथ्र्यो, त्यो रूपरेखा नकोरिएकाले अब महानगरमा पहिलो विकासको रेखा कोरेर एक साथ विकास गर्ने र सम्पूर्ण महानगरवासीले देख्ने गरी काम गर्ने, महानगरको उन्नति गर्न सक्ने हिसाबले मैले एजेण्डाहरु अगाडि सारेको छु ।

आजको कुरामा हैन २०६२/०६३ को जनआन्दोलन सकिने बित्तिकैदेखि सबै राजनीतिक पार्टीसँग मैले राजनैतिक मुद्दा सकियो, अब हामी विकासमा लाग्नु पर्छ, जसरी राजनीतिको आन्दोलन भयो त्यसरी नै स्वतन्त्र तरिकाबाट विकासको नेतृत्व गर्नुपर्छ भनेर भन्दै आएको थिए । राजनीतिक पार्टीहरूको सल्लाह र समर्थनबाट मैले चितवनको गुरुयोजना निर्माण समितिको संयोजक हुने मौका पनि पाएँ । एक वर्ष लगाएर हामीले गुरुयोजना पनि बनाएका छौं । त्यसलाई कार्यान्वयन गरी महानगरपालिकालाई व्यवस्थित सहर बनाउनु पर्नेछ । यी सबै कुराको लागि महानगरवासी जनताले मलाई मतदान गरी जिताउनु हुनेछ भन्ने कुराको विश्वास लिएको छु ।

राजनीतिप्रति युवा पुस्ता त्यति आकर्षित छैनन्, उनीहरूलाई पनि राजनीतिप्रति आकर्षण बढाउन तपाईंका के कस्ता योजना छन् ?

अहिलेको राजनीति निराशाजनक छ । राजनैतिक दलहरू मूल्य र मान्यता लिएर आउँछन्, स्वास्थ्य हिसाबले प्रतिपर्दा गर्छन्, जुन दल सरकारमा हुन्छ उसले राम्रो काम गरे सबै जनताले साथ सहयोग गर्छन् । र, कमिकमजोरी भए आलोचना गर्छन्, त्यसपछि राजनीतिक परम्पराको विकास हुन्छ भनेर सबैले आशा गरेका थिए । हामीले पनि त्यही आशा गरेका थियौं । पछिल्लो समय राम्रो काम गर्यो भने सबैले मिलेर खुट्टा तान्ने प्रबृत्ति भयो । देशमा रोजगारी नभएर युवा खाडीमा जानु पर्ने बाध्यता आयो, एउटा औषधि नपाएर मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था छ । सरकारले सञ्चालन गरेका उद्योग, कारखाना, स्वास्थ्य तथा शिक्षा जीर्ण अवस्थामा छन् ।

यस्तो अवस्था देखेर राजनीतिप्रति युवाको आकर्षण नभएको हो । अब हामीले युवाहरूलाई राजनीतिप्रति आकर्षित गर्न जरुरी छ । निर्वाचन सकिएर म नगरप्रमुख भए भने सबै दलहरूसँग छलफल गरी सबैका साथ सहयोग लिएर अगाडि बढ्नेछौं । यहीं रोजगारीको अवसरहरू सिर्जना गरी युवाहरू विदेशिनु पर्ने वाध्यात्मक अवस्थाको अन्त्य गर्नेछौं । ५ वर्षभित्रमा राम्रो काम गरेर युवालाई पनि राजनीति चासोको विषय बनाएर देखाउने छौं । व्यक्तिगत फाइदाभन्दा पनि अब एकचोटि हामी दुःख गरौं र हाम्रो महानगर बनाऔं भन्ने आव्हान पनि गर्छु । हामी लोककल्याणकारी राज्यको अनुभूति दिन चाहन्छौं ।

गरिब, असहाय, तथा विपन्न वर्गका नागरिकको लागि विकासको मूल प्रवाहमा ल्याउन के कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?

हामीले ज्येष्ठ नागरिक, बालबालिकाको संरक्षणको जिम्मेवारी लिने छौं । अपाङ्ग, असक्त भएका व्यक्तिहरूलाई पनि सहयोग गर्ने छौं । महानगरका कुनै पनि नागरिक भोको, नाङ्गो हुने छैनन् । गरिबीको रेखामुनि भएका सम्पूर्ण नागरिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने छौं । जसको आवास छैन, उसको लागि बस्ने व्यवस्था गर्ने छौं ।

प्रदूषण नियन्त्रण व्यवस्थित सडक, ढल, खानेपानीको व्यवस्थापन तथा व्यवस्थित सहरीकरण गर्न तपाईसँग के कस्ता कार्यक्रम छन् ?

यस विषयमा मैले धेरै काम गरिसकेको छु । २०६३ सालमा विकास साझा सहमतिका साथ गर्ने भनेर सबै राजनैतिक दलहरूसँग छलफल भएको थियो । पछिल्लो समय भरतपुरमा जनघनत्व बढ्दो छ । जनघनत्व बढेसँगै चितवनमा एउटा नयाँ सहरको आवश्यकता पर्छ । चाप बढ्दै गयो भने सहरी क्षेत्रले मात्र धान्न सक्ने अवस्था हुँदैन । त्यसकारण पश्चिम चितवनलाई नयाँ सहरको रूपमा विकास गर्ने योजना बनाएका छौं । सो ठाउँमा जग्गा एकीकृत प्रणालीबाट सबै मान्छेहरूको साथले नयाँ सहर बनाउने छौं । जसबाट भरतपुरको चापलाई घटाउन सक्छौं । सहरी क्षेत्रमा मात्र सडक सञ्जाल धेरै छन् । भरतपुर महानगरको पछि परेको ठाउँमा सडकहरू बन्न सकेको छैन । सो ठाउँमा मुल मुल सडकमात्र छन् ।

केन्द्र र प्रदेश सरकारको सहयोगमा बनेका सडकहरू भरतपुरमा धेरै छन् । महानगरपालिका आफैले बनाएको सडक त्यति धेरै छैन । व्यक्तिगत रूपमा पनि आफ्नो जग्गाको विकास गर्ने हिसाबले सडक पिच भएका छन् । देख्दा फेरि महानगरभित्र बढिनै सडक निर्माण भइ पीच भएको देखिन्छ । तर, भित्रभित्र जानु भयो भने अझै पनि धुलाम्मे हुने अवस्था छ । पिच छ, ढल छैन, ढल छ पीच छैन भने आधुनिक सु–सभ्य सहर बसाल्न सक्दैनौं । सडक बनाउँदा पैदल यात्री हिँड्ने फुटपाथ चाहियो, साइकल लेनको पनि आवश्यकता पर्छ । यी सम्पूर्ण कुराहरूको गुरुयोजना बनाएर काम गर्दै जाने छौं ।

सार्वजनिक यातायात व्यवस्थापन गर्ने बारे कस्तो सोच बनाउनु भएको छ ?

भरतपुरमा चल्ने गाडीका लागि निश्चित समय निर्धारण गरिनेछ । लामो समय बस स्टपमा बस्ने समस्या आउँदैन र कुन बस स्टपमा कुन गाडी कतिखेर आउँछ भन्ने कुराको सिस्टम बनाउने छौं । जसले गर्दा नागरिकले सहज रूपमा सेवा पाउने छन् र लामो समय बसलाई कुरेर बस्नु पर्ने अवस्था नहोस् । सडकमा दुर्घटनाको क्रम बढ्दो छ । सो समस्या समाधान गर्नको लागि आधुनिक प्रविधि र सडक ट्रफिकहरुलाई परिचालन गर्ने छौं । कुनै पनि दुर्घटना नहोस् भनेर हामी सचेत छौं ।

निजी क्षेत्रसँग सहकार्य गरी महानगरपालिकाले ठूलाठूला बस सेवाको सञ्चालन गर्नेछ । सार्वजनिक यातायात व्यवस्थापनको बारेमा पनि उतिकै हाम्रो ध्यान जाने छ । विद्युतीय सवारी साधनको प्रयोग पनि गर्नेछौं । सो सवारीको लागि चार्जिङ स्टेसनहरूको आवश्यकता पर्छ । स्टेसनहरू पनि निर्माण गर्ने नै छौं र, अहिले प्रदेश तथा केन्द्र सरकारले पनि विद्युतीय सवारी साधनलाई जोड दिँदै आएको छ । यस सम्बन्धी पूर्वाधार तयार पार्ने छौं ।

निर्वाचित हुनुभयो भने शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाई कसरी अगाडि बढाउनु हुन्छ ?

म भरतपुर अस्पतालको अध्यक्ष भएर २ वर्ष काम गरिसकेको छु । सरकारी अस्पतालहरू अब नमुना हुनुपर्छ । सरकारी अस्पतालहरूले अब यस्तो स्ट्यान्डर कायम गर्नुपर्छ कि सरकारी अस्पताल देखाएर निजी अस्पताललाई सरकारी अस्पतालको स्ट्यान्डर फलो गर्नुहोस् भनेर भन्न सकौं । यस प्रकारको सरकारी अस्पताल भरतपुरमा हामीले बनाउने हो ।

हरेक वडामा मार्केट सेन्टर र स–साना सहरहरूको विकास गर्ने छौं । ५ वर्षमा फोहोरको व्यवस्थापन गरी भुईँमा प्लास्टिकको टुक्रा पनि देख्न पाउनु हुनेछैन । सडकको दुवैतर्फ र सार्वजनिक जग्गामा फलफूल र फूलका बिरुवाहरू लगाएका हुन्छौं । जसबाट भरतपुर महानगरपालिका पुरै, कि फूलैफूल वा फलफूल र हरियाली सहरको रुपमा हुनेछ । भरतपुरलाई समृद्ध सहरको रूपमा विकास गर्ने छौं ।

यद्यपि, भरपुर अस्पताल केन्द्र मातहतमा छ, त्यसलाई हामीले सुधार गरेर महानगर मातहत ल्याउने प्रयत्न गर्छौं । शारदा नगरमा हामीले महानगरीय अस्पतालको निर्माण गर्नेछौं । र, वडा वडामा स्वास्थ्यचौकीको निर्माण गर्नेछौं । ज्येष्ठ नागरिकको लागि घरघरमा गएर स्वास्थ्य सेवा दिने वातावरण मिलाउँछौं ।

निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा गरेको कामलाई पनि हामी प्रोत्साहन गर्ने छौं । सरकारी अस्पतालमा सर्वसाधारण नागरिकले सहज रूपमा सेवा पाउने गरी अस्पताललाई बलियो बनाउँछौं । शिक्षाको सन्दर्भमा अहिलेको शिक्षाबाट एउटा राम्रो जनशक्तिको उत्पादन हुन सकेको छैन । स्थानीय पाठ्यक्रमको विकास गरी विद्यालयमा लागू गर्छौं । हरेक विद्यार्थीलाई खोज र प्रश्न गर्न सक्ने बनाउँछौं । विद्यालयमा नै काम गर्दै सिक्दै पढ्दै गर्ने कार्यक्रम पनि सञ्चालन गर्नेछौं । प्राविधिक शिक्षालाई जोड दिने छौं ।

देशव्यापी समस्याको रुपमा रहेको जमिन खण्डीकरण गर्ने, प्लटिङ गर्ने, घडेरी बनाएर बेच्ने विकृति भरतपुरमा पनि छ, व्यवस्थित आवास र कृषिको आधुनिकीकरणको लागि के कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?

अघिल्लो निर्वाचनमा हाम्रो पार्टीको उम्मेदवार निर्वाचित भएको भए यो समस्यालाई समाधान गरिसक्ने थियौं । यसको व्यवस्थापन बारेमा पनि हामी नीति नियमको विकास गरी अगाडि बढ्ने छौं । जग्गा प्लटिङ कति गर्ने, सार्वजािब जग्गा कति छोड्ने भनेर विभिन्न नियमहरू अपनाउन सक्छौं । जमिन एकीकृत प्रणालीबाट नियमहरू लागू गरी काम गर्नेछौं ।

चितवनमा सार्वजनिक जग्गा धेरै छ । अहिले हामी देखिरहेका छौं, धेरै ठाउँमा जग्गाको प्लटिङ भइरहेको तर राज्यले प्लटिङ गर्न हुँदैन भनेको छ । प्लटिङ रोक्दा पैसाको चलखेल बढ्दो हुने गरेको छ । यस्तो पैसाको चलखेल हुने गरी प्लटिङ गर्न दिनु हुँदैन । प्लटिङ गर्ने काम पनि रोकिएको छ्रैन, झन् दिनहुँ बढ्दो छ । जमिनको मूल्य पनि बढ्दो छ । यस्तो गर्न दिनु हुँदैन । कृषियोग्य जमिनमा उत्पादनमुलक बनाउने कुरालाई जोड दिने छौं ।

रोजगारी सिर्जना र व्यवसायीकरण अभिवृद्धिको लागि तपाईको योजना तथा कार्यक्रम के छन् ?

रोजगारी सिर्जना गर्नको लागि उद्यम विकासका कामहरू अगाडि बढाउने छौं । युवाको क्षमता पहिचान गरी त्यो अनुसारको रोजगारीको व्यवस्थापन गर्नेछौं । युवालाई यहीं रोजगारी दिनेगरी उद्योग व्यवसायहरुको स्थापना गरी सञ्चालन गर्ने छौं । निजी क्षेत्रलाई चाहिने आवश्यक दक्ष जनशतिm महानगरले तालिम दिएर सिपमूलक बनाउने छ ।

निर्वाचित हुनुभयो भने ५ वर्षभित्रमा भरतपुर कस्तो हुन्छ ?

पाँच वर्षमा भरतपुर संसारको राम्रो सहरमध्येको एक हुनेछ । त्यस किसिमको गुरुयोजना बनाएर अगाडि बढ्ने छौं । भरतपुरको सबै क्षेत्रमा समानुपातिक विकास हुने गरी परियोजनाहरू सञ्चालन गर्ने छौं । पर्यटकीय सहरको रूपमा विकास गर्ने छौं । उर्भरता भएका जमिनमा उत्पादकत्व बढाउनको लागि आधुनिक तरिकाबाट खेती गर्ने हो । हरेक वडामा मार्केट सेन्टर र स–साना सहरहरूको विकास गर्ने छौं । ५ वर्षमा फोहोरको व्यवस्थापन गरी भुईँमा प्लास्टिकको टुक्रा पनि देख्न पाउनु हुनेछैन । सडकको दुवैतर्फ र सार्वजनिक जग्गामा फलफूल र फूलका बिरुवाहरू लगाएका हुन्छौं । जसबाट भरतपुर महानगरपालिका पुरै, कि फूलैफूल वा फलफूल र हरियाली सहरको रुपमा हुनेछ । भरतपुरलाई समृद्ध सहरको रूपमा विकास गर्ने छौं ।

Share News