काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार सिर्जना सिंहले श्रमिक महिलाका बालबच्चाका लागि सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने बताएकी छिन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार सिंहले महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने बताएकी हुन् ।
उनले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताइन् । उनले महिलाहरुले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भएपनि राज्यले श्रमको मुल्यांकन नगरेको बताइन् ।
उनले आफु काठमाडौं महानगरपालिकाको मेयर भएको खण्डमा गरिबीको रेखा मुनि रहेको श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउने बताइन् । त्यसैगरी बेरोजगार युवाहरुका लागि डिजिटल प्रविधिको प्रयोगगरी सिपमुलक तालिक दिने र उद्यमी बनाउने पनि उनले उल्लेख गरिन् ।
उनले भनिन्, ‘घरमा काम गर्ने महिला दिदीबहिनीको श्रमको मुल्यांकन भएको छैन । त्यसकारण म मेयर भएपछि जुन दिदीबहिनीहरु घरमा बाध्य भएर काम गरिराख्नु परेको छ । र उहाँहरु बेरोजगार हुनुहुन्छ । जसको आय न्युन छ । जो महिला दिदीबहिनीहरु गरिबीको रेखा मुनि हुनुहुन्छ, उहाँहरुको लागि मैले विशेष राहत योजना मैले ल्याउने छु भनेर म भन्न चाहान्छु ।’
सिंहले प्रत्येक सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने पनि उल्लेख गरिन् । उनले प्रत्येक वडाको गल्ली–गल्लीमा बिजुली बत्ति बालेर र सिसी क्यामेरा जडान गरेर महिलाहरुका लागि सुरक्षित अनुभुति गराउने पनि बताइन् ।