काठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।
मुख्य ठूला राजनीतिक दलहरुले निर्वाचनमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले स्वास्थ्य सेवालाई मुख्य प्राथमिकतामा राखेको जनाएका छन् । तीनै दलले सार्वजनिक गरेको घोषणा पत्रमा यसअघि नै कार्यान्वयन भएका एजेन्डाहरु समावेश गरिएको छ ।
तीनै दलले स्वास्थ्य बीमालाई अनिवार्य गर्ने, आधारभूत स्वास्थ्य सेवा निशुःक, विभिन्न रोगको स्थानीय तहमा नै निशुल्क उपचारदेखि प्रयोगशाला बनाउनेसम्मका एजेन्डाहरु समावेश गरेका छन् ।
दलहरूले नयाँ घोषणापत्र सार्वजनिक गरेपनि योजना र कार्यक्रमहरू भने अधिकांश पुरानै दोहो¥याएका छन् । उनीहरूको घोषणापत्रमा अघिल्लो स्थानीय निर्वाचनमा देखिएकाभन्दा फरक कुनै खास योजनाहरू छैनन् ।
स्थानीय तह निर्वाचनका लागि दलहरुले सार्वजनिक गरेका घोषणापत्रमा स्वास्थ्य सेवामा महत्वकांक्षी योजनाहरु समावेश गरेको पूर्व स्वास्थ्य सचिव खगराज बराल बताउँछन् ।
‘अहिले राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्नुभएको छ, स्थानीय तहबाटै घोषणा पत्र आउनुपर्ने हो, केन्द्रको निर्वाचन जसरी माथिबाटै आउनु त्यति प्रभावकारी हुँदैन, कतिपय विषयमा संघीय बजेटबाटै सशर्त अनुदान गएपछि मात्रै काम गर्न पाउने प्रावधान छ, स्थानीय तहले आप्नै बजेटबाट बनाउँन सक्छ कि सक्दैन त्यसमा भर पर्छ, घोषणा पत्रमा यो गर्छु, त्यो गर्छु भन्ने तर बजेट नभएर प्रदेश तथा केन्द्र सरकारको भर पर्नुपर्दा सहज हुँदैन,’ उनले भने ।
उनले नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रत्येक स्थानीय तहमा प्रयोगशाला निर्माणको एजेन्डा बढी महत्वकांक्षी भएको बताए ।
‘प्रयोगशाला बनाउने भनिएको छ, तर कस्तो खालको भन्ने उल्लेख छैन, नाम मात्रकै प्रयोगशाला बनाउने हो भने सकिन्छ, तर प्रयोगशाला बनाएर त्यसको सञ्चालन गर्न अप्ठ्यारो नै हुन्छ, कोभिडको परीक्षण गर्न सक्ने प्रयोगशाला बनाईने हो भने त्यो बढी महत्वकांक्षी बन्छ, प्रयोगशाला बनाउनभन्दा पछि त्यसको खर्च, स्रोतसाधन तथा जनशक्ति लगायतको व्यवस्थापन मुख्य पाटो हो,’ पूर्व सचिव बरालले भने ।
उनका अनुसार खर्च गरेर प्रयोगशाला निर्माण गर्ने तर मानिसहरु सहरमा आउनेहुँदा खर्च मात्र थपिन्छ । सबै स्थानीय तहमा प्रयोगशला स्थापना गर्नेभन्दा पनि सिमित स्थानमा प्रयोगशला हुँदा त्यसको प्रभावकारी हुन्छ ।
एमालेको घोषणा संविधानको कपिपेष्ट
नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि संविधानमा नै व्यवस्था भएको निःशुल्क स्वास्थ्य सेवालाई घोषणापत्रमा समावेश गरेको छ । नेपालको संविधानमा नै हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निशुःक रुपमा पाउनु मौकिल हल भनेर उल्लेख गरिएको छ ।
संविधानमा नै व्यवस्था भएको कुरालार्ई कार्यान्वयन नगरी चुनावी एजेन्डा बनाईएको पूर्व स्वास्थ्य सचिव बराल बताउँछन् ।
‘संविधानमा नै भएको व्यवस्था हाल कार्यान्वयन भएको छैन, कार्यान्वयन नभएको कुरालाई कार्यान्वयन गर्छ भन्नु राम्रो हो तर सो कुरा घोषणा पत्रमा समावेश गर्नु उचित हुँदैन्’, उनले भने ।
यस्तै, उनले हाल प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको स्वास्थ्य बीमालाई पुनः दलहरुले चुनावी एजेन्डा बनाएको बताए ।
सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा पुर्याउने भनेको थियो । तर अस्पतालले पैसा नपाएको भन्दै सेवा नै रोकेका छन् । स्वास्थ्य बीमा सामाजिक सुरक्षा भत्ता वितरण गरेजस्तो नभएकोले फरक रुपमा सोच्नुपर्ने उनको भनाई छ ।
के छन् राजनीतिक दलको घोषणा पत्रमा ?
स्वास्थ्यमा नेकपा एमालेले निरोगी नेपाल, स्वस्थ नेपाली भन्दै मुख्य एजेन्डा बनाएको छ ।
उक्त एजेन्डामा एमालेले पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने, आरोग्यता, स्वास्थ्य परीक्षण, निशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निशुल्क उपचार, बीमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत् स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने, प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने उल्लेख गरेको छ ।
यस्तै, निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुने कुरा सुनिश्चित गर्ने । स्वास्थ्य सेवाको उपलव्धता र गुणस्तरको नियमित अनुगमन गर्ने, महामारी, विपद् तथा अन्य स्वास्थ्य जोखिमको व्यवस्थापन गर्ने, स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन, सबै खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन गर्ने, स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन स्वास्थ्य तथा पोषण सेवासम्बन्धी कार्य गर्ने, गम्भीर रोगको पूर्व परीक्षण (स्क्रि निङ) र पाठेघरको क्यान्सरको निशुल्क परीक्षण गर्ने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै, गर्भवती सबै महिलाले स्वास्थ्य केन्द्रमा प्रसूति हुन आवश्यक सुविधा र प्रोत्साहन गर्ने, गर्भावस्थामा नै पौष्टिक आहार वितरण, स्वास्थ्य परीक्षण, मातृत्व शिक्षा र शिशु स्याहारकार्यलाई अझ प्रभावकारी बनाउने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्ति को स्वास्थ्य विमा निशुल्क गर्ने तथा स्वास्थ्य केन्द्र तथा अस्पतालबाट निशुल्क वितरण हुने औषधि को गुणस्तर र समयमै आपूर्ति सुनिश्चित गर्ने जस्ता विषय पनि एमालेको घोषणापत्रमा समेटिएका छन् ।
एमालेले स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गंभीर प्रकृति को अपाङ्गता भएका व्यक्ति को पुनस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलव्ध गराउने व्यवस्था गर्ने एजेन्डा राखेको छ ।
नेपाली कांग्रेसको चुवानी घोषणा पत्र
निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्ने मुख्य नारा बनाएको छ ।
स्थानीय तहले विनियोजन गर्ने स्रोतबाट स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १० प्रतिशत पुर्याउने, नियमित परीक्षण गर्न वडामै प्रयोगशाला सुविधा विस्तार गर्ने, नयाँ प्रविधिबाट गुणस्तरीय सवामा द्रुत पहुँचको लागि टेलिमेडिसिन सेवा, सबै नागरिकलाई स्वास्थ्य बीमा, मातृशिशु स्वास्थ्य र पोषण, सुत्केरी महिलाललाई ५ हजार सुत्केरी सहायता भत्ता दिने घोषणा गरेको छ ।
यस्तैगरी, कांग्रेसले स्वस्थ नागरिकः घरमै स्वास्थ्य सेवा, सहज र सुलभ गुणस्तरीय औषधी, आकस्मिक र आपतकालिन स्वास्थ्य सेवा उपलब्ध गराइने घोषणा गरेको छ ।
नेकपा एकीकृत समाजवादी
जनताको अधिकारः निःशुल्क स्वास्थ्योपचार, स्थानीय सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्य उपचार, जटिल खालका शल्यक्रियाहरु (जस्तैः मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरु स्थानीय अस्पतालबाट निल्शुल्करुपमा उपलब्ध गराइने, स्वास्थ्य बीमालाई सहज र सुलभ बनाइने लगायतका एजेन्डा घोषणा गरेको छ ।