काठमाडौं । बिहीबारको सेयर बजारमा सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जुन सो दिन कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो ।
बजारमा कूल २३२ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसको कूल १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबार गर्नेको शीर्ष स्थानमा सूर्या लाइफसँगै दोश्रो र तेश्रो स्थानमा दुई वाणिज्य बैंक छन् । दोश्रो स्थानमा रहेको एनआईसी एशियाको ६ करोड ७३ लाख रुपैयाँ र तेश्रोमा रहेको नबिल बैंकको ४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बढी कारोबार गर्नेको शीर्ष स्थानमा रहेका तीन वटै कम्पनीको सेयर मूल्य भने घटेको छ । बुधबारको तुलनामा सूर्या लाइफको सेयर मूल्य घटेर प्रतिकित्ता ५८२ रुपैयाँ, एनआईसी एशियाको प्रतिकित्ता ७६४ रुपैयाँ र नबिल बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ९०१.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
समग्रमा बिहीबारको नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले घटी हो । घट्दो बजारलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बुधबार दिएको एक अभिव्यक्तिले थप मद्दत गरेको देखिन्छ । उनले बुधबार एक कार्यक्रममा बोल्दै बैंकको व्याजदर बढ्न सक्ने भनेसँगै त्यसको असर बिहीबारको बजारमा परेको हुन सक्छ । यद्दपि बजार भने घट्दो क्रममा नै रहेको थियो ।
घटेको बिहीबारको बजारमा ५ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । बजारमा एनटीसीसहित ५ कम्पनीको सेयर मूल्य बुधबारको तुलनामा बढेको हो । जाल्पा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १.२७ प्रतिशत, कालिका पावर कम्पनीको ०.९८ प्रतिशत, न्यादी ग्रुप पावरको ०.७१ र नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयर मूल्य ०.२० प्रतिशतले बढको छ ।
बिहीबार घलेम्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढी प्रतिशत अर्थात ६.८६ प्रतिशतले घटेर प्रतिकित्ता २१३.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।