चुनावी योजना: धनुषाधामलाई पर्यटकीय नगर बनाउनेदेखि गरिब विद्यार्थीलाई ल्यापटप र छात्रवृति

<p>जनकपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको धनुषाधाम नगरपालिकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजनालाई समेटिएर धनुषाधाम नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । धनुषाधाम नगरपालिकाको नगरप्रमुख पदमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका देवेन्द्रकुमार यादव (दीपक) र उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले उक्त प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा [&hellip;]</p>

जनकपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको धनुषाधाम नगरपालिकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजनालाई समेटिएर धनुषाधाम नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

धनुषाधाम नगरपालिकाको नगरप्रमुख पदमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका देवेन्द्रकुमार यादव (दीपक) र उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले उक्त प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाधाम नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि करिब २५ किलोमिटर धार्मिक प्राकृतिक पदयात्रा मार्ग निर्माण गर्ने, नगर क्षेत्रमा रहेको धनुषा मन्दिर र राम मन्दिरलाई थप सौन्दर्यीकरण र गुणस्तरीय सरसफाइलाई प्राथमिकतामा राखी धनुषाधाम धर्मशालालाई यात्री निवासका रूपमा विकास गरिने तथा सांस्कृतिक सङ्ग्राहालयको स्थापना र बाल उद्यानको निर्माणलाई प्राथमिकता दिइने उल्लेख छ ।

समृद्ध नगरका लागि कृषि भन्ने नाराका साथ चुनावी प्रतिस्पर्धामा आएको आफूहरु निर्वाचित भएपछि तत्कालै नगरप्रमुखको अध्यक्षतामा कृषि नगर विकास समिति गठन गरी कृषकले वर्षाैंदेखि खेप्दै आएका मलखाद्य, बीउबिजन, कृषि सामग्रीलगायतका समस्यालाई समाधान गरिने नगरप्रमुखका उम्मेदवार यादवले बताए । एक गाउँ एक उत्पादनको नीतिलाई प्राथमिकताका साथ लागू गरिने उल्लेख गर्दै उनले कृषि बीमा लागू गरिने र दूध उत्पादक सहकारीमार्फत हरेक वडामा दूध सङ्कलन केन्द्र स्थापनालाई जोड दिने जानकारी दिए ।

नगर क्षेत्रका सडकहरूको स्तरोन्नति गर्दै हरेक वर्ष पाँचदेखि १० किलोमिटर कालोपत्र सडक निर्माण गर्ने, सबै वडामा सेवा पुग्ने गरी तीनवटा नगरबस सञ्चालन गर्ने र अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालनमा ल्याउने आफूहरूको प्रतिबद्धता रहेको नगरप्रमुखका उम्मेदवार यादवले बताए ।

सो अवसरमा उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले दक्ष जनशक्ति निर्माणका लागि सबै माध्यमिक विद्यालयलाई स्तरोन्नति गरी प्राविधिक तथा व्यावसायिक विद्यालयका रूपमा विकास गर्ने आफूहरुको प्रतिबद्धता रहेको बताइन् ।

फरक क्षमता भएका, गरिब, बिपन्न, दलित एवं जनजाति समुदायलाई ल्यापटपको व्यवस्था गर्ने, प्रतिविद्यार्थी १० हजार छात्रवृत्ति तथा अतिविपन्न समुदायका विद्यार्थीलाई एक इञ्जीनियर र दुई ओभरसियर कोर्ष अध्ययन गर्नका लागि सम्पूर्ण छात्रवृत्ति दिइने व्यवस्था गरिने आफूहरूको योजना रहेको उनले उल्लेख गरिन् ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष शेषको निधन

धनुषाको जनकनन्दनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल वारिक शेषको गए राति निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित शेषको राति ८ बजेतिर निवासमै निधन भएको परिवारजनले बताएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शेख पुनः उम्मेदवार बन्ने सोचका साथ अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर कांग्रेसले सुदेश चौधरीलाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । उनको आज बिहान इस्लाम धर्मावलम्बीको परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् । रासस

Share News