काठमाडौं । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा अधिकांश कर्मचारीहरू खटिएसँगै देशभरका अधिकाँश सरकारी कार्यालयको कामकाम टप्प भएको छ ।
शुक्रबार कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै सोही दिनदेखि लागू हुने गरी अतिआवश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको कार्यालयले जनाएको हो ।
वैशाख २३ गते देखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यकबाहेक अन्य कार्यहरू स्थानीय तहको निर्वाचन पश्चातमात्र सञ्चालन हुने कार्यालयले जनाएको छ । कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सञ्चालन गर्ने गरी शुक्रबारदेखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेकाबाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिए ।
त्यस्तै काठमाडौं उत्यकामा रहेका काठमाडौं र ललितपुर गरी दुवै महानगरपालिकाले पनि अत्यावश्यक बाहेकका कामकाज ठप्प रहेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाले प्रशासनिक काम र सरसफाइ लगायतका अतिआवश्यक कामबाहेक सेवा बन्द गरेको सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । उनका अनुसार सबैजसो कर्मचारीहरू मतदान केन्द्रमा खटिसेका छन् । उनले आफू पनि कार्यालयमा नरहेको जानकारी दिए । आर्चाय आफै पनि मतदान केन्द्रमा पुगिसकेका छन् ।
त्यस्तै ललितपुर महानगरापलिकाको अवस्था पनि उस्तै छ । आधा जति कर्मचारीहरू मतदानका लागि फिल्डमा खटिएका छन् भने आधा मात्र महानगरपालिकाको कार्यलयमा छन् । निर्वाचनका कारण सबैजसो कर्मचारी फिल्डमा खटिएका कारण महानगरपालिकाको कामकाज ठप्पजस्तै छ । महानगरापालिकाका सूचना अधिकारी रुद्रप्रसाद गौतमले आफू पनि निर्वाचनको अनुगमनमा खटिने जानकारी दिए ।
यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कामकाज भने अहिलेसम्म प्रभावित भइसकेको छैन । कर्मचारीहरू उपत्यकाभित्रै खटिने भएकाले सबै कर्मचाररीहरू अहिलेसम्म काममै छन् । सूचना अधिकारी इन्जिनियर कमल अर्यालका अनुसार वैशाख २८ गतेदेखि मात्र कर्मचारी बुथमा खटिने भएकोले केही प्रभावित हुन्छ । उनका अनुसार आफ्नै कार्यालयमा मतदान केन्द्र भएकोले पनि कर्मचारीहरूले अफिसियल काम पनि गर्न पाएका छन् ।
यही वैशाख ३० गते हुने ७५३ स्थानीय तहका लागि निर्वाचन आयोगले निजामति कर्मचारीहरूलाई खटाएको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशभर पौने दुई लाख कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी ६ जना कर्मचारी खटिएका छन् ।
यो संख्या सुरक्षाकर्मीबाहेक हो । निर्वाचन सुरक्षका लागि त्यतिकै मात्रामा सुरक्षकर्मी खटिएका छन् । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील, सामान्य गरी तीन भागमा वर्गीकरण गरेर त्यसअनुसार सुरक्षाकर्मी खटाएका छन् भने म्यादी प्रहरी पनि खटाइएको छ । गृह मन्त्रालयले निर्वाचन सुरक्षका लागि सेना, प्रहरी र सशस्त्र थरी साढे दुई लाख सुरक्षकर्मी र एक लाख म्यादी प्रहरी खटाएको छ ।
निर्वाचन आयोगका अनुसार नेपालमा १० हजार ७५६ मतदान स्थलहरूमा कर्मचारी र सुरक्षाकर्मीहरू खटिएका हुन् ।
साथै, देशभर सबै स्थानीय तहमा एक लाख ४५ हजार १० उम्मेदवाहरू चुनावी प्रतिस्पर्धामा छन् । हालसम्म तीन गाउँपालिका अध्यक्षसहित ३९० जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् भने ३० गतेको निर्वाचनपछि ३५ हजार २२१ जनप्रतिनिधि स्थानीय तहले पाउँदैछ ।
निर्वाचन आयोगका अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका हुन् ।