काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं उपत्यका छोड्नेहरुको संख्यामा बृद्धि भएको छ । पछिल्लो ३ दिन यता निर्वाचनका लागि उपत्यका छाड्नेहरुको संख्यामा बृद्धि भएको यातायात व्यवसायीहरुले बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तीन दिन यता ६ लाख मानिसहरुले काठमाडौं उपत्यका छाडिसकेको जनाएकोे छ । महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला निर्वाचनका लागि बाहिरिनेको संख्या क्रमश बृद्धि हुँदै गएको बताउँछन् ।
‘निर्वाचनका लागि ५÷७ लाख मानिसहरु उपत्यका छोडेर बाहिरिसकेका छन्, स्थानीय तह निर्वाचनका लागि ११ लाख मानिसहरु बाहिरिने हामीले अनुमान गरेका छौँ’, उनले भने, ‘२८ गतेसम्मका लागि सबै रुटका गाडीहरु बुकिङ भैसकेका छन्, २९ गते बाहिरिनेको संख्यामा केही कम हुने हाम्रो अनुमान हो ।’
उनले मध्ययदेखि लामो दूरीका सम्पूर्ण रुटका गाडीहरु भरिभराउ भएको बताए । ‘केही आफ्नै तरिकाले बाहिरिएका छन्, अधिकाशं मानिसहरु स्थानीय तह निर्वाचनका लागि विभिन्न पार्टीहरुले रिजर्भ गरेको गाडीमा नै बाहिरिएका छन्,’ उनले भने ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजिव शर्मा दासले भने दैनिक ५० हजार बढी मानिसले उपत्यका छाडेको तथ्यांक रहेको बताए ।
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन अनुमति लिएका बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । उक्त दिन आन्तरिक उडानहरु बन्द हुनेछन् भने अन्तर्राष्ट्रिय उडान तथा अवतरण भने सुचारु नै रहने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।
सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागेको हो ।
मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।