बेलकोटगढी नगरपालिकाको मेयरमा सत्तागठबन्धनमा रहेको माओवादी पार्टीका नेता जगत गुरुङ उम्मेदवार बनेका छन् । राजनीतिसँगै सामाजिक काममा पनि सक्रिय गुरुङ यो समय चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । सामाजिक कार्यमा पनि सक्रिय गुरुङ पार्टीको उच्चाई सँगसँगै अब बेलकोटगढी नगरपालिकाको विकास गर्न उम्मेदवारी बनेको बताउँछन् ।
मेयर पदका उम्मेदवार बनेका गुरुङ आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । उम्मेदवार गुरुङसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी :
स्थानीय तहको निर्वाचन हुन अब ३ दिन मात्रै बाँकी छ, निर्वाचनको तयारी कस्तो छ ?
हामी वैशाख १८ गतेदेखि प्रचारप्रसार साथै घरदैलो अभियानमा छौं । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट माओवादी पार्टीबीचको गठबन्धनको तर्फबाट म उम्मेदवार बनेको हूँ । बेलकोटगढी नगरपालिकामा १३ वटा वडा छन् सो वडामा संयुक्त अभियान हिजोमात्र सम्पन्न गरिसकेका छौं । छुटेका वडा र टोलमा पुगि भोट मागिरहेका छौं । आम मतदाताहरूले पनि हामीलाई निकै उत्साह दिइरहनु भएको छ ।
घरदैलो अभियान गरिरहेको बेलामा मतदाताको माग र गुनासो के कस्ता पाउनु भयो ?
यस नगरपालिकाका जनतासँग भेटघाट गर्दा गुनासाहरू धेरै भेटिए । हामीले जनताको आधारभूत आवश्यकता पनि पुराहुन नसकेको पायौं । विशेष गरी यहाँ कृषिमा आधारित जनसमुदाय भएकाले कृषिमा प्रयोग हुने मलको अभाव भएको धेरै सुन्यौं ।
बनेको सडक स्तारोन्नति हुन नसक्दा बर्षाको समयमा यातायात सेवा सञ्चालन गर्न कठिन पर्दा स्थानीयहरूले धेरै दुःख पाएका रहेछन् । स्थानीय सरकारले पनि संघीय विकास प्रणालीमा उत्कृष्ट काम गर्न नसेकेको भन्ने नै गुनासो देखियो । जसरी राजनैतिक दलबाट जनप्रतिनिधिको लागि तयारी भइरहँदा जनताहरूले पहिलाको जस्तै त होला नि भन्ने प्रश्नले हामी अलिकति नर्भस हुनुपर्याे ।
नगरको विकास र काम गर्ने उद्देश्यले उम्मेदवार बनिरहदा पनि हिजोका दिनमा जनप्रतिनिधिको कार्यशैलीले गर्दा र समस्या उस्तै रहेको मैले अनुभव गरेको छु । अघिल्लो निर्वाचित जनप्रतिनिधिले जनताको आधारभूत आवश्यकता पुरा गरिदिएको भए यी गुनासाहरू आउँदैन थियो होला ।
मेयर पदमा तपाईंले चुनाव जित्ने आधार के हुन् ?
पहिलो कुरा त हाम्रो भिजन नै चुनाव जित्ने मुख्य आधार हो । संघीय प्रणालीको भावना र मर्म अनुसार हामीले जनताको लागि गर्नुपर्ने सानाभन्दा साना आधारभूत आवश्यकतालाई समेटेर घोषणापत्र तयार पारेका छौं । त्यो अनुसार नै म निर्वाचित भए भने काम गर्छु । यस नगरपालिकामा ९९ प्रतिशत जनता कृषि पेसामा आधारित छन् । त्यसैले मैले किसानसँग मेयर भन्ने नारा पनि तयार गरेको छु । उहाँहरूले उत्पादन गरेको कृषि उपजको बजार व्यवस्थापनदेखि खाद्यान्न उत्पादनसम्मका कुराहरू घोषणापत्रमा लिएर जनतासामु गएको छु । यहाँका मतदाताले पनि यस्तै भिजन भएका र काम गर्न सक्ने जनप्रतिनिधि खोजिरहनु भएको छ ।
हामीले सबैभन्दा पहिले बेलकोटगढीलाई व्यवस्थित बनाउनु पर्छ । त्यसपछि सुशासनको कुरा छ । जनताका आधारभूत आवश्यकता पूरा गर्न हामी प्रतिबद्ध छौं । जगत गुरुङ साचिँकै जनमुखी हुन् भन्ने जनताले विश्वास गर्ने आधार दिएको छु । यहाँका जनताले मलाई समाजसेवीको रूपमा चिन्छन् । त्यो हिसाबले मैले यहाँको जनताको विश्वास जित्छु । उहाँहरूको अभिमत मैले प्राप्त गरी जिताउनु हुन्छ भन्ने विश्वास लिएको छु । र, यी सबै कारण नै हाम्रो जितको आधार हो ।
भनेपछि तपाईंले मेयर जित्ने पक्का हो ?
मैले त आफू सुरक्षित छु भनेर दाबी गर्छु । अहिले हामी गठबन्धनमा छौं । साढे ३३ हजार मतदाता भएको यस नगरपालिकामा हाम्रो अनुमानमा कम्तीमा पनि २५ देखि २८ हजार मत खस्छ । जसमध्ये १४ देखि १६ हजार मत लिएर निर्वाचित हुन्छु जस्तो मलाई लाग्छ । जनताले दिएको आश्वासन र जनलहर हेर्दा मैले अत्यधिक बहुमत लिएर जित्छु भन्ने मेरो अपेक्षा छ ।
राजनीतिप्रति युवा पुस्ता त्यति आकर्षित छैनन्, उनीहरूलाई पनि राजनीतिप्रति आकर्षण बढाउन तपाईंका के कस्ता योजना छन् ?
मैले ल्याएका एजेण्डा र मेरा प्रतिबद्धताहरू युवालाई आकर्षित गर्ने खालका छन् । कृषिलाई आधार बनाएर कृषिमा जनशक्तिको उत्पादन गर्नुपर्छ । त्यो भनेको हाम्रो विद्यालयहरूमा ८ देखि १२ कक्षासम्म कृषि विषयमा वा व्यवहारिक शिक्षा समावेश र अनिवार्य अनि निःशुल्क गर्नुपर्छ भनेर भनेका छौं । कृषि विषयलाई हामीले अनिवार्य स्कुल लेबलमा नै गर्न सक्यौं भने भोलिका दिनमा कृषिका लागि दक्ष जनशक्ति स्थानीयस्तरमा नै उत्पादन गर्न सक्छौं । र, कृषि नै संवृद्धि र परिर्वतको आधार हो भन्ने नारा तयार पारेका छौंं ।
अहिले हजारौं युवा रोजगारीको खोजीमा बिदेसिएका छन् । ती युवालाई नेपालमै कृषिमा आधारित पेशा अपनाई रोजगारीमूलक बनाउन सक्छौं । शिक्षाको क्षेत्रमा पनि व्यवहारिक शिक्षा दिन सकिन्छ भन्ने खाल्का कार्यक्रमले गर्दा युवाहरू अलिक बढी आकर्षित भएको पाइन्छ । यहीँ रोजगारीको अवसरहरू सिर्जना गरी युवाहरू विदेशिनु पर्ने वाध्यात्मक अवस्थाको अन्त्य गर्नेछौं । ५ वर्षभित्रमा राम्रो काम गरेर युवालाई पनि राजनीति चासोको विषय बनाएर देखाउने छौं ।
गरिब, असहाय, तथा विपन्न वर्गका नागरिकको लागि विकासको मूल प्रवाहमा ल्याउन के कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?
हामीले गरिब, असहाय, जनजाति, जेहेन्दार तथा विपन्न वर्गका परिवारका बालबालिकाहरूलाई उच्च शिक्षासम्म निःशुल्क गराउने भनेका छौं । हामीले ज्येष्ठ नागरिक, बालबालिकाको संरक्षणको जिम्मेवारी लिनेछौं । अपाङ्ग, असक्त भएका व्यक्तिहरूलाई पनि सहयोग गर्नेछौं । गरिबीको रेखामुनि भएका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था मिलाउने छौं ।
निर्माण भएका सडकलाई कृषि सडकको रूपमा स्तरोन्नति गर्ने, सहुलियत नगर यातायात सञ्चालन गर्ने, इन्टरनेटको सेवा सुविधा सबैतिर पुर्याउने छौं । विद्युतलाई कृषि अनुदानको रूपमा वितरण गर्ने जस्ता सहुलियत प्रदान गर्ने कार्यक्रमले गर्दा लक्षित वर्गलाई धेरैभन्दा धेरै सम्बोधन गर्नेछौं ।
सडक, ढल, खानेपानीको व्यवस्थापन तथा व्यवस्थित सहरीकरण गर्न तपाईसँग के कस्ता कार्यक्रम छन् ?
यो ग्रामीण नगरपालिका हो । ग्रामीण इलाका भएको कारणले गर्दा ढलको त्यति धेरै आवश्यकता पर्दैन । जति पनि यहाँका सडकहरूले हाइवेसम्म छुन्छन् ती सडकहरू पक्की बनाउनु पर्छ । यी कुरा गर्नको लागि नगरको बजेटले मात्र सम्भव हुँदैन । तर, वाह्य स्रोत तथा संघ र प्रदेश सरकारको सहयोगमा आर्थिक स्रोत जुटाएर सबै सडक कालोपत्रे गर्नेछौं । खेतीयोग्य जमिनमा घरहरू बन्दै छन् भने त्यसलाई अलिकति निरुत्साहित गरी करको दायरमा ल्याउने हो । सामुदायिक रूपमा आयआर्जन गर्ने खालका जस्तै रुखहरू तथा चिराइतोका बिरुवाहरू रोपी आर्थिक उपहज गर्न सकिन्छ ।
तपाईंको प्रतिस्पर्धीलाई के भन्न चाहनु हुन्छ ?
२०७४ सालका निर्वाचित मेयर राजेन्द्ररमण खनाल मेरा प्रतिस्पर्धी हुनुहुन्छ । उहाँ नेकपा एमालेबाट मेयर पदमा पुनः उठ्नु भएको छ । म उहाँलाई के भन्छु भने तपाईं निर्वाचित हुँदा नगरपालिकामा के काम गर्नुभयो र तपाईले परिकल्पना गरेको काम भयो त भनेर जनतालाई गएर सोध्नुहोस् । तपाई नामको मात्रै मेयर बन्नुभयो कि कामको मेयर हुनुभयो भनेर भन्नुहोस् । यस नगरलाई नमुना बनाउने तपाईंको योजना जनतालाई सुनाउनुहोस् । तपाईंले गरेको विकासको एकचोटी आत्मासमीक्षा गर्नुहोस् र अगाडि बढ्नुहोस् भन्न चाहन्छु । किनकि उहाँलाई जनताले स्विकार्ने परिस्थिति देखिँदैन ।
निर्वाचित हुनुभयो भने शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाई कसरी अगाडि बढाउनु हुन्छ ?
स्वास्थ्य सर्वसुलभ र जनमुखी सेवा हुनुपर्छ । प्रत्येक वडामा प्रसूति सेवा सहितको स्वास्थ्य केन्द्रदेखि लिएर एम्बुलेन्सको सुविधा सञ्चालन गर्नेछौं । घरदैलो छोडेर बाहिर हिँड्न नसक्ने वृद्ध वृद्धालाई घरघरमा स्वास्थ्य सेवा पुर्याउने छौं ।
गुणस्तरीय शिक्षा भनेर मात्र हुँदैन । गुणस्तरीय शिक्षाको लागि चाहिने पूर्वाधारहरू निर्माण गर्नेछौं । अहिले पाइरहेको शिक्षा भनेको परम्परागत शैलीको छ । यसलाई हामीले परिवर्तन गर्नुपर्छ । गुणस्तरीय शिक्षाको लागि प्रविधिमैत्री वातावरण मिलाउने छौं ।
निर्वाचित हुनुभयो भने ५ वर्षभित्रमा बेलकोटगढी कस्तो नगरपालिका हुन्छ ?
पाँच वर्षमा जादुको छडी जस्तो दिनको रात, रातको दिन गर्न सकिदैन । तर, यो समयभित्रमा पूर्वाधार विकास, जनताको आधारभूत कुराको पुरा गर्न सकिन्छ । बेलकोटगढीको सबै क्षेत्रमा समानुपातिक विकास हुनेगरी परियोजनाहरू सञ्चालन गर्नेछौं । पर्यटकीय सहरको रूपमा विकास गर्नेछौं । उर्वर जमिनमा उत्पादकत्व बढाउनको लागि आधुनिक तरिकाबाट खेती गर्ने हो ।
अन्त्यमा, मतदाताहरूलाई केही भन्न चाहनुहुन्छ ?
हामी निर्वाचको मुखैमा छौं । वैशाख ३० गते मतदाताको लागि एउटा अवसर पनि हो । यस चुनावमा तपाईंहरुको अपेक्षा, समस्याको समाधान गर्न सक्ने जनप्रतिनिधि चुन्न सक्नु भएन भने तपाईहरुले सधै भोगेको देखेको अभाव उस्तै हुन्छ । हाम्रोलाई होइन, राम्रोलाई चुन्नुहोस् । काम गर्न सक्ने भिजन भएको जनप्रतिनिधि चुन्नु होला भन्न चाहन्छु । र, मलाई मतदान गरी जिताउनु हुन्छ भन्ने कुराको पनि विश्वास लिएको छु ।