काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । मुलुक संघीयतामा गइसकेपछि शुक्रबार दोस्रो पटक स्थानीय तह निर्वाचन हुँदैछ ।
बिहान ७ बजे देशभर एकसाथ सुरु हुन लागेको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
आयोगको तथ्यांक अनुसार स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन् । जसमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् ।
सार्वाजनिक यातायादेखि आन्तरिक उडान बन्द
स्थानीय तह निर्वाचनका लागि सरकारले सार्वजनिक यातायातदेखि आन्तरिक उडान बन्द गरेको छ ।
निर्वाचनका दिन सम्पूर्ण आन्तरिक उडान बन्द भएका छन् । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघको निर्णय अनुसार आज नियमित उडान बन्द भएका हुन ।
आन्तरिक उडान बन्द भएता पनि अन्तर्राष्ट्रिय उडान तथा अवतरण भने नियमित रुपमा हुने नेपाल नागरिक उडडयन प्राधिकरणले जनानएको छ ।
निर्वाचनका दिन अत्यावश्यक सवारीका साधन भने सञ्चालनका लागि छुट दिएको छ । आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।
प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् ।
पर्यटकका लागि सटल बस
नेपाल पर्यटन बोर्डले निर्वाचनका दिन पर्यटकहरूको सहजताका लागि काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गर्न लागेको हो ।
नेपाल पर्यटक वाहन संघ र नेपाल पर्यटक बस संघसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतको लागि विभिन्न रुटहरूमा सःशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था गरेको बोर्डले जनाएको छ । यसका लागि ३ वटा रुट छुट्याएको छ ।
सटल बस सेवावापत प्रति व्यक्ति तीन सय रूपैयाँ शुल्क लाग्ने पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले एअरपोर्ट–एनएसी–होटलअन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल –एम्बासडर होटल –एअरपोर्टलाई पहिलो रुट, एअरपोर्ट–होटल र्याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एअरपोर्टलाई दोस्रो रुट र एअरपोर्ट– तीनकुने चोक–होटल एभरेष्ट–माइतिघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्टसम्म तेस्रो रुट तोकेको छ ।