काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५४औं वर्षमा प्रवेश गरेको छ । २०२५ सालमा स्थापना भएको ५३ वर्ष पार गर्दै संस्था २०७९ जेठ १ गतेदेखि ५४औं वर्षमा प्रवेश गरेको हो ।
५ दशक बढी पार गरेको समिति पछिल्लो समय आक्रामक रुपमा अघि बढ्दै आफ्नो काम कारवाहीलाई चुस्त बनाउँदै गएको छ ।
यो अवसरमा समितिले सरोकारवालाहरुलाई आफ्नो काम कारवाहीमा दत्तचित्त भई अघि बढ्न आग्रह गरेको छ । साथै, कम्पनीहरुलाई बिजनेशनमा विश्वसनियता ल्याउन र अन्डरराइटिङमा समेत विशेष ध्यान दिन समितिका अध्यक्ष सिलवालले आग्रह गरेका छन् ।
‘हामी किन र कसका लागि छौं भन्ने सबैले बोध गर्नुपर्यो, र, त्यहि कामको लागि दत्तचित्त भई अघि लाग्नु पर्यो, हामीले गरिरहेको बिजनेशमा विश्वसनियता ल्याउनु पर्यो, बजारलाई विश्वसनिय बनायो भने हाम्रो पनि बिजनेस रह्यो, बजार नै बदनाम भएर गइसकेपछि हाम्रो पनि भविष्य रहँदैन,’ उदाहरण दिँदै उनले भने, ‘अहिले अर्ली डेथको यति केशहरु आइरहेका छन्, एक किस्ता तिर्ने बित्तिकै मान्छे मरिसक्ने, यो कसरी भइरहेको छ, अन्डरराइटिङमा ध्यान दिनु पर्यो, यो विषयमा गम्भिर हुनु पर्यो ।’
साथै, उनले सरकारलाई गरिबको बीमा गरिदिन समेत आग्रह गरेका छन् । उनीहरुलाई आर्थिक सहायता, चन्दा, पुरस्कार बाढ्नुको सट्टा बीमा गरिदियौं भने गरिबी निवारण रोकिने समितिको भिजन रहेको उनले बताए ।
बीमा कम्पनी १०/१२ वटामा झर्न सक्छन् : अध्यक्ष सिलवाल
‘यो भिजनलाई हामीले ५० वटा पालिकामा पुर्याइसकेका छौं, म आफैले पनि ५ वटा प्रदेश सरकारसँग कुरा गरिसकें र खुशी पनि छु की उहाँहरुले बुझ्नु भएको छ, अहिले निर्वाचन भएर रोकिएका छौं । निर्वाचनपछि दुई महिनामै ५० वटा ठाउँमा पुग्ने योजना छ,’ विकासन्युजसँग बोल्दै सिलवालले भने ।
यता निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षत्रीले समितिलाई ५४औं वार्षिकोत्सवको शुभकामना दिँदै बीमा क्षेत्रमा धेरै परिवर्तनहरु आएको र यसलाई निरन्तरता दिँदै जानु पर्ने बताए ।
सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेको क्षेत्रीले नेपालको परिवेशमा बीमा क्षेत्रले धेरै राम्रो फड्को मारेको बताउँदै उनले जीडीपीमा पनि यो क्षेत्रले ३.५७ प्रतिशत योगदान पुर्याएको बताएका छन् ।
‘कुनै पनि निकाय अथवा कुनै पनि क्षेत्र पर्फेक्ट नै हुन्छ भन्ने त हुँदैन, हामी (कम्पनीहरु) पनि सबै कुरामा पर्फेक्ट छैनौं भने समिति पनि नहोला, तर बीमा समितिले जुन स्टेप लिइरहनु भएको छ त्यसलाई नराम्रो भन्न मिल्दैन, जस्तो उधारो बीमा लिनु हुँदैन भन्ने थियो, त्यो कार्यान्यवन भएपछि धेरै नै हल भया, कृषि बीमामा पनि ‘लर्निङ बाई डुइङ’ ‘डुइङ बाई लर्निङ’ भन्ने एउटा पोलिसी बनायौं, त्यसपछि लागू गरियो, त्यो एकदम ठूलो स्टेप हो, यद्दपि, बीमा समितिले सुधार गर्नुपर्ने कामहरु धेरै नै छन्,’ विकासन्युजसँग उनले भने ।
त्यस्तै, वार्षिकोत्सवको दिन (जेठ १ गते) समितिले कुनै पनि औपचारिक कार्यक्रम राखेको छैन । देशमा निर्वाचनको माहोल कायमै रहेको र मन्त्रीहरु सबैलाई चुनाव लागेकोले आजको कार्यक्रम स्थगित भई अबको एक साताभित्रमा हुने समितिका अध्यक्ष सिलवालले जानकारी गराए ।