काठमाडौं । नेकपा(एमाले)ले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ ।
पार्टी महासचिव शंकर पोखरेलको तर्फबाट आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेले सो आरोप लगाएको हो । सत्ता गठबन्धनले निर्वाचन जित्नका लागि योजनावद्ध धाँधलीको साहारा लिएको एमालेको आरोप छ ।
निर्वाचनको समयमा गृह प्रशासन पुर्ण रुपमा गठबन्धनको पक्षमा र एमालेको विरुद्धमा परिचालन भएको र योजनावद्ध धाँधलीलाई निरन्तरता दिइएको भन्दै यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
धाँधली भएका पालिकाहरुमा उजुरीका आधारमा पुनः मतदान गराउन विज्ञप्तिमार्फत एमालेले आग्रह गरेको छ ।
एमालेले सत्ता गठबन्धनलाई लगाएका आरोपहरु :
निर्वाचन सुरु हुनुभन्दा अगाडि–
निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा प्रहरी तथा कर्मचारीहरु खटाएको ।
हाम्रा मतदातालाई हतोत्साह गर्न अघिल्ला दिन गिरफ्तार गर्ने र मतदानपछि मात्र छाड्ने कार्य गरियो । निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्व रुकुम तथा ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोष्टमार्टम गर्न समेत नगरी त्यसै राखिएको ।
मौन अवधिमा बुटवललगायतको स्थानमा नेकपा (एमाले)का उम्मेदवारलाई हतोत्साहित गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रुपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्ने लगायतको हत्कण्डाको प्रयोग गरी अर्कोतिर सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुँदा समेत रोक्न कुनै सार्थक प्रयास गरिएन ।
मतदानको समयमा–
निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक,मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भयो ।
उदयपुरको त्रियुुगा नगरपालिका वडा नं. १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको छ । प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको छ ।
पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच गरिएको छ ।
निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुर्याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो ।
निर्वाचनको दिन मतदान सुरु हुनेक्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरियो ।
निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगञ्ज महानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्ने जस्ता कार्य भए ।
स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग भएको छ । केही स्थानमा मतगणना गर्दा खसेको मतभन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए ।
मतगणनाको समयमा–
मतगणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्यसमेत गरिएको छ ।
मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको, सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको, लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गरिंदैछ ।
मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको ।
मतगणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको छ । हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं ।
मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले)ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको छ ।