काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक शुक्रबार खुलेको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम एक अर्ब पनि पुगेको छैन ।
सेयर मूल्य मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको छ । जुन धेरै लामो समय पछिको न्यून बिन्दु हो ।
त्यस्तै, अघिल्ला दिनहरुमा एक अर्बमाथिको सेयर कारोबार हुने बजारमा शुक्रबार एक अर्बको कारोबार हुन पनि धौंधौं भएको छ । दिनभरको कारोबारमा २२३ कम्पनीको ९३ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सम्भवतः पहिलो पटक शुक्रबार कारोबार भएको र धेरैलाई दुविधा भएर पनि कारोबार घटेको हुनसक्ने बुझिन्छ छ ।
सो दिन अरुण काबेली पावरको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सबैभन्दा बढी कमाउने अथवा टप गेनको शीर्ष स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य २.७३ प्रतिशतले बढेर प्रतिकित्ता १४६९ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा तेह्रथुम पावर कम्पनीका लगानीकर्ता रहेका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतले सेयर मूल्य गुमाएका छन् । जसको अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको छ ।
बजारमा कारोबारमा आएका समूहमध्ये म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । सो दिन म्युचुअल फण्ड समूह सामान्य अर्थात ०.४६ प्रतिशतले बढेको छ ।