काठमाडौं । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ । परिसूचक ३४.२१ बिन्दुले घटेर २२००.८८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५३ प्रतिशतले घटी हो ।
बजारमा कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा १ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत शुक्रबारको तुलनामा ४३ करोड ७३ लाख रुपैयाँले बढी हो । गत शुक्रबारको बजारमा ९३ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य भने ७ रुपैयाँले घटेर प्रतिकित्ता ८९९ रुपैयाँमा झरेको छ ।
सोमबारको बजारमा टप गेनर र टप लुजरको अग्रस्थानमा लघुवित्त वित्तीय संस्था नै रहेका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.२० प्रतिशतले बढेर प्रतिकित्ता ११३७.५० रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता १३४० रुपैयाँमा झरेको छ ।
बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी घट्नेमा जीवन बीमा समूह रहेका छन् । उक्त समूह २८५.८८ बिन्दुले घटेको छ ।