काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बजार पुँजीकरण ५ खर्ब ८४ अर्ब ८५ करोड रुपैयाँले घटेको छ । २०७८ असार मसान्तमा ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०७८ चैत मसान्तमा घटेर ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँमा झरेको हो ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार समीक्षा अवधिमा पुँजीकरण घटेको देखिन्छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक घटेसँगै बजार पुँजीकरण पनि घट्न पुगेको हो । गत असार मसान्तमा २८८३.४ रहेको नेप्से परिसूचक चैतसम्ममा २४१५.३ मा झरेको छ ।
त्यस्तै, नेप्सेमा २०७८ चैतसम्ममा सूचीकृत ६ अर्ब ६८ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनासम्ममा कुल १ खर्ब ८२ अर्ब ७६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ७९ करोड बराबरको साधारण सेयर (आईपीओ), ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १५ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।