काठमाडौं । सेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सरकारलाई पुँजी बजार विरोधी नीतिले क-कसलाई फाईदा पुर्यायो भनि प्रश्न गरेका छन् । लगानीकर्ताले गत भदौमा सरकारलाई तिरेको करभन्दा हालको कारोबार रकम कम भएको उदृत गर्दै उनले सो प्रश्न गरेका हुन् ।
‘सरकार, गत भदौ महिनाको एक दिनमा लगानीकर्ताले राज्यलाई तिरेको कर रकम, ब्रोकर कमिसन जति आजको कुल कारोबार होला जस्तो छ, अब भन्नुहोस् पुँजी बजार विरोधी नीतिले क कसलाई फाईदा पुर्यायो ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
२०७८ भदौ र २०७९ बैशाखको करको रकमलाई तुलना गर्दै पौडेलले सरकारको सबै नीतिले जनतालाई मात्र होइन सरकारलाई पनि नोक्सानी हुने प्रष्ट भएको बताएका छन् ।
‘सबै नीतिले जनतालाई मात्र नोक्सानी हुँदैन सरकारललाई पनि हुँदो रहेछ भन्ने कुरा गत वर्ष भाद्र महिनामा उठेको कर रकम र यही बैशाख महिनामा पुँजी बजारबाट संकलन भएको राजस्व हेरे हुन्छ,’ उनले भने ।
साथै, पुँजी बजारले दिने राजस्वले न विदेशी मुद्रा खर्च हुन्छ न कुनै जनताको स्वास्थ्यलाई नै बिगार्छ भन्दै उनले आगामी बजेटमा महासंघले दिएका सुझावलाई सम्बोधन गर्न समेत माग गरेका छन् ।
त्यस्तै, लगानीकर्ताहरुको मनोबल वृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने उनले बताएका छन् । साथै, ‘५२ लाखको मनोबल राष्ट्रकै मनोबल’ भन्दै उनले सरकारलाई ५२ लाख डिम्याट होल्डरको बारेमा सोच्न समेत आग्रह गरेका छन् ।