काठमाडौं । नेकपा एमालेकी सांसद नबिना लामाले एमालेको अर्थमन्त्री भएको समयमा ३३ सय पुगेको सेयर बजार अहिले २२ सयमा झरेको बताएकी छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा ३३ सयमा रहेको सेयर बजारको सूचक अहिले गठबन्धन सरकारको कारण २२ सयमा झरेको धारणा राखिन् ।
उनले गठबन्धन सरकार सेयर बजारमैत्री नबनेको बताइन् । उनले नीति तथा कार्यक्रममा सरकारले पुँजी बजारलाई प्रभावकारी बनाइने उल्लेख गरिएकाे भएपनि यो सरकार सेयरबजारमैत्री नभएको धारणा राखिन् ।
‘हाम्रो मन्त्री हुँदा ३३ सयमा पुगेको सेयर बजार अहिले २२ मा झरेको छ, गठबन्धनकाे सेयर बजारमैत्री सरकार भएन, सबै कार्यक्रम हावादारी मात्रै भए,’ उनले भने ।
सासंद लामाले दाबी गरे अनुसार सेयर बजार सूचक ३३ सय बिन्दुमा भने पुगेको थिएन । सेयर बजार सुचांक ३२ सयको बिन्दुमा पुगेर फर्केको थियो ।
यस्तै, उनले रासायनिक मल उत्पादन गर्ने कार्यक्रम पनि हावादारी रहेको बताइन् । उनले भारतले गहुँ र चिनीको निर्यात रोकेको बताउँदै अब नेपालमा खाद्य संकट आउन सक्ने धारणा राखिन् । यस्तै, कृषि उत्पादन बढाउनतर्फ सरकार उदासिन देखिएको उनकाे भनाइ छ ।