काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरिसकेको छ । यो वर्षको बजेटले अधिकांश क्षेत्रलाई समेट्न प्रयास गरेको देखिन्छ ।
उक्त बजेटमा प्रतिकृया दिँदै बीमाका सरोकारवालाहरुले बीमा क्षेत्रको लागि हालसम्मकै उत्कृष्ट भएको बताएका छन् । तर, बीमा क्षेत्रलाई प्रोत्साहित गर्ने बजेटको कार्यान्वयनको पाटो भने हेर्न बाँकी रहेको उनीहरुको धारणा छ ।
हालसम्मकै उत्कृष्ट – बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल
सरकारले विगतमा भन्दा अहिले बीमालाई बढी आत्मसाथ गरेको छ । बीमा जोखिम हस्तान्तरणको राम्रो टुल हो भन्ने सरकारले बुझ्यो । बीमालाई कसरी अगाडि बढाउनुपर्छ, के के बीमा हुनुपर्छ भन्ने बुझ्यो । हामीले भनेका सबै विषय नसमेटिए पनि मूख्य विषयहरुलाई समेटिएको छ । जस्तै, जोखिम हस्तान्तरण, बीमालाई कसरी अगाडि बढाउने, लघुबीमालाई अगाडि बढाउने भन्ने आयो । २५ हजार छुट दिइरहेकोमा ४० हजार छुट दिएको छ । समग्रमा राम्रो छ । मलाई लाग्छ बीमाको बारेमा यति धेरै कार्यक्रम अहिलेसम्मको बजेट वक्तव्यमा आएको थिएन । हाम्रो प्रयास सरकारले पनि बुझ्यो । एकदमै राम्रो कार्यक्रमहरु आएको छ । यसले बीमा क्षेत्रलाई प्रोत्साहित गर्छ । बीमा क्षेत्रको लागि यो ‘हालसम्मकै उत्कृष्ट’ बजेट हो ।
बजेट राम्रो, कार्यान्वयनको पक्ष हेर्न बाँकी- जीवन बीमक संघका उपाध्यक्ष पोषकराज पौडेल
बीमामा राम्रा कुरा आएका छन् । विशेष गरी जीवन बीमाको लिमिट बढेको छ । यसले दायरा समेट्न र मान्छेलाई इन्स्योरेन्स किन्न सहयोग गर्छ । कृषि क्षेत्रमा लगानी गरी दायरा बढाउने भन्ने आएको छ । यसमा अवसर र चुनौति दुबै छ । अर्को, लघुबीमाले दायरा बढाउने भनिएको छ, यो आफैमा नयाँ विषय हो । समग्रमा बीमाका थुप्रै विषयहरु समेटिएको छ । निक्षेपको बीमामा बढाइएको सीमाले तल्लो लेभलका बीमितलाई इन्स्योरेन्सबाट सहयोग पुग्ने प्रयास हो यो । यो कर्जा सरक्षण निगममा गरिन्छ, जुन पहिला ३ लाखको सीमा थियो । समग्रमा अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष बीमाका विषय थुप्रै क्षेत्रमा छोइएका छन्, यसले सबै क्षेत्रमा राम्रो हुन्छ भन्ने बुझाइ हो । मूख्य त बजेटमा सारांश रुपमा आउने हो, अब कार्यान्वयन कस्तो हुन्छ, त्यो हेर्न बाँकी नै छ ।