काठमाडौं । आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरे । उनले संघीय संसदको संयुक्त बैठकमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट सार्वजनिक गरे ।
अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेको पछिल्लो दिन अर्थात सोमबार सेयर बजार राताम्मे बनेको छ । यो समाचार तयार पार्दा सम्म (बिहान ११ः३२ बजे) सेयर बजार १६.१२ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर बजारमा ४ लाख ४४ हजार ५५७ कित्ता सेयर खरिद बिक्रीबाट १५ करोड ६९ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।
बजेट सार्वजनिक भएपछि आज सेयर बजार सुरूमै घटेको हो । अर्थमन्त्री शर्माले सेयर बजारकाे विषयमा खासै प्रभावकारी कार्यक्रम नल्याएको लगानीकर्ताको धारणा छ । कतिपयले बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले सेयर बजारसम्बन्धि कुनै कार्यक्रम नै नआएको प्रतिक्रिया दिएका छन् ।
शर्माले बजेट मार्फत् एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा पब्लिकमा जानु पर्ने, वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने कम्पनी पनि अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने, आईपीओमा गैरआवासिय नेपाली ऋणपत्रमा लगानी, विदेशमा रोजगारीका लागि गएका नेपालीलाईआईपीओमा १० प्रतिशत कोटा छुट्याउनु पर्ने, घरजग्गा क्षेत्र पनि सेयर बजारमा सूचिकृत गर्ने घोषणा गरेका थिए ।