काठमाडौं । बजेट सार्वजनिक भएपछिको पहिलो दिनको सेयर बजार हाफ सेञ्चुरीले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ बिन्दुमा झरेको छ । जुन गत शुक्रबारको तुलनामा २.२६ प्रतिशतले घटी हो ।
बजारमा कूल १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । सर्वाधिक कारोबार भएको कम्पनीको सेयर मूल्य भने २४ रुपैयाँले घटेर प्रतिकित्ता ९३५ रुपैयाँमा अन्तिम किनबेच भएको छ ।
बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ३०६ अंकले घटेको छ ।
त्यस्तै, सोमबार ५ वटा कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य बढ्नेमा बरुण हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था रहेका छन् । जसमध्ये बरुणको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२४.४० रुपैयाँ पुगेको छ । त्यस्तै, उपकार लघुवित्तको सेयर मूल्य ८.२३ प्रतिशतले घटेर प्रतिकित्ता १०३.७० रुपैयाँमा झरेको छ ।
त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । लामो समयपछि बजारमा कारोबारमा आएको बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले घटी हो ।
बजेटपछिको पहिलो दिनको सेयर बजार घट्नुले लगानीकर्ताहरु बजेटप्रति सकारात्मक छैनन् भन्ने बुझिन्छ । बजेटले रियल सेक्टरलाई पुँजीबजारमा आउन बाध्यकारी कार्यक्रम ल्याएको छ । र, त्योभन्दा बाहेक बाँकी पुरानै विषय दोहोरिएकोले पनि त्यसको असर भोलिपल्टको बजारमा परेको पुँजीबजारका जानकार एक लगानीकर्ताले बताए ।