काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा सांसद शेरबहादुर तामाङ्ले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिँदा थप महंगो हुने धारणा राखेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि संसद्यमा प्रस्तुत गरेको बजेटमाथी आफ्नो धारणा राख्दै तामाङ्ले सो बताएका हुन् ।
‘बजेटमा स्वास्थ्य बीमामा बीमा कम्पनी शब्द बोलिएको छ, कतै निजी क्षेत्रलाई दिन खोजेको त होइन, यदि स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन खोजेको हो भने अब जनताको स्वास्थ्यलाई अझै महंगो गर्दै हुनुहुन्छ,’ उनले भने ।
त्यसैले स्वास्थ्य बीमालाई निशुल्क गर्न समेत उनले माग गरेका छन् । सरकारले जनताको स्वास्थ्य खर्च सबै व्यहोर्छु भनेर किन आँट गर्दैन भन्दै उनले सो माग गरेका हुन् ।
‘म त भन्छु स्वास्थ्य बीमालाई यसरी गरौं कि जनतालाई जुनसुकै रोग लागोस्, जस्तोसुकै रोग लागोस्, र जतिसुकै खर्च लागोस् हामी शतप्रतिशत व्यहोर्छौं भनेर किन आँट नगर्ने ? जनताको स्वास्थ निःशुल्क गरौं,’ ती तामाङले भने ।
बजेट अनुसार यसअघि स्वास्थ्य बीमा बोर्ड मार्फत संचालन गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई अब बीमा कम्पनीहरु मार्फत पनि संचालन गरिने भएको छ । बीमा कम्पनीहरुले स्वास्थ्य बीमा कार्यक्रम आफूहरुले पनि संचालन गर्न पाउनु पर्ने माग गरिरहेका थिए भने बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि स्वास्थ्य बीमा बोर्डको नियमन आफूले गर्ने बताउँदै आएको छ ।
‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ, यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ, स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ, स्वास्थ्य बीमा कार्यक्रमको लागि कूल ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ,’ आगामी आवको बजेटमा उल्लेख छ ।