काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । जेठ १७ गते जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले सो निर्देशन दिएका हुन् ।
उनले बीमा कम्पनीहरुका परिपालन अधिकृतहरुलाई बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर संचालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।
निर्देशक लालले बीमा कम्पनीहरुका परिपालन प्रतिवेदनमा एकरुपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरु देखिएको उल्लेख गर्दैं तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने बताए ।
उनले बीमा कम्पनीका काम कारवाही लगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी कमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धमा र उपनिर्देशक (कानून) हृदयश्वर पण्डितले एएमएल तथा सीएफटी सम्बन्धमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानून) शाम्भराज लामिछाने, सहायक निर्देशक (कानून) सविता थापा तथा सहायक निर्देशक (कानून) मौनता धौबन्जार र जीवन बीमा कम्पनीहरुका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।