काठमाडौं । सेयर बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक विभिन्न शीर्षकमा अग्रस्थानमा रहेको छ । बुधबारको बजारमा बैंक कारोबार रकम, संख्या र कारोबार कित्ताको आधारमा अग्रस्थानमा छ ।
बजारमा बैंकको १२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । त्यस्तै, बैंकको ३ लाख ९९ हजार ५५६ कित्ता सेयर कूल २ हजार ५३ पटकमा खरिद बिक्री भएका छन् । जुन अन्य कम्पनीको तुलनामा बढी हो ।
सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य भने घटेर प्रतिकित्ता ३०७ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ७.२५ प्रतिशत अर्थात २४ रुपैयाँले कम हो । ।
समग्रमा बुधबारको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक ७.१९ अंकले घटेर २१३०.७३ बिन्दुमा झरेको छ । त्यस्तै, कारोबार रकम पनि मंगलबारको तुलनामा २४ करोडले घटेर १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारको बजारमा कूल १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी र बलेफी हाइड्रोपावरको सेयर मूल्य क्रमशः १० र ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता क्रमशः ५२८ र १३९.४८ रुपैयाँमा कारोबार भएको छ ।
बजारमा सबैभन्दा बढी सेयर मूल्य घट्नेमा शिखर इन्स्योरेन्स कम्पनी छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेसँगै त्यसको प्रभाव इन्स्योरेन्सको सेयर मूल्यमा परेको हो । अघिल्लो दिनको तुलनामा इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत अर्थात १०२.७० रुपैयाँले घटेर प्रतिकित्ता ९२४.३० रुपैयाँमा झरेको छ ।
बजारमा विकास बैंक, फाइनान्स र हाइड्रो पावर समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।