काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले जेठ १९ गतेदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड अर्थात एक अर्ब रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको छ । जसमध्ये एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
जेठ १९ गतेदेखि खुला भएको यो योजनामा छिटोमा जेठ २४ गतेसम्म आवेदन दिन सकिने छ । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी असार २ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ । साथै, यो योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्ने छन् । उक्त फण्डमा इच्छुकले न्यूनतम एक सयदेखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
यो बन्दमुखी प्रकृतिको योजना हो । जसको अवधि ७ वर्षको रहेको छ । अर्थात ७ वर्षपछि यो योजना स्वतः परिपक्व हुने छ ।
यस्ता छन् विशेषता
क्यापिटलले सञ्चालनमा ल्याउन लागेको ‘एनआईसी एशिया फ्लेक्सी क्याप’ चौथो बन्दमुखी योजना हो । यो योजनाबाट उठेको अधिकांश रकम क्यापिटलले सेयर बजारमा लगानी गर्ने छ । क्यापिटलका चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर मनिष घिमिरेका अनुसार क्यापिटलले सूचीकृत कम्पनीमा लगानी गर्दा बजारको पुँजीकरण अनुसार सूचीकृत कम्पनीहरुलाई तीन समूह (स्मल क्याप, मिड क्याप तथा लाज क्याप) मा वर्गीकरण गर्छ । त्यसमध्ये जुन क्याप भित्र रहेका कम्पनीहरुले राम्रो प्रतिफल दिन सक्छ, सोही समूह अन्तर्गतका कम्पनीहरुमा क्यापिटलले लगानी गर्ने घिमिरेले बताए ।
सम्बन्धित समाचार