काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले ५४ लाख ८८ हजार कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब १२ करोड मध्ये स्थानीयका लागि ११ लाख २० हजार कित्ता (१० प्रतिशत) तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता सेयर जारी गर्ने भएको हो ।
कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९।६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले जानकारी दिए ।